माघ १० । अमेरिकाले ६६ वटा वस्तुलाई भन्सार सुविधा दिने निर्णय गरेसँगै सरकारले सिमरामा बनाउन लागेको गार्मेन्ट प्रोसेसिङ जोन दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले १९ करोड रुपैयाँ निकासा गरेसँगै गार्मेन्ट प्रोसेसिङ जोन बनाउन सुरु भएको हो ।
अहिले यसैका लागि धमाधम जग्गा मिलाउने र अन्य काम सुरु भइसकेको विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले नेपाल खबरलाई जानकारी दिए।
‘दुई वर्षभित्र सक्ने गरी काम सुरु भएको छ,’ भट्टले भने, ‘अहिले जग्गालाई सम्याउने काम भइरहेको छ।’ उनका अनुसार सिमराको ब्लक नम्बर ‘ए’ मा ३ सय ४३ विगाहा मध्ये १ सय ६५ विगाहाको मास्टर प्लान समेत बनाइसकेको छ। ३ सय ४३ विगाहामै अमेरिकाले सुविधा दिएका उत्पादन मात्रै गरिने छ।
सिमरामा ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ र ‘ई’ गरी ५ वटा ब्लकमा सेज बन्ने छ। त्यसमध्ये ‘ए’ ब्लकको १ सय ६५ विगाहामा मास्टर प्लान बनाएर काम अघि बढाइएको छ। यसमा अमेरिकाले सुविधा दिएका वस्तु मात्रै उत्पादन गर्ने गरी काम सुरु हुनेछ। ‘साढे २ अर्ब रुपैयाँको लागतमा ३ सय ४३ विघा जग्गामा स्थापना हुन्छ,’ भट्टले भने, ‘त्यसमध्ये १ सय ६५ विगाहाको मास्टर प्लान बनाएर काम अघि बढाएको छ।’
तपाईको प्रतिक्रिया