logo

नेपालीलाई कोरोनाबाट कसले बचाएको छ ?

      4/18/2020 गते 00 00 मा प्रकाशित     1040   पटक पढिएको

सरकार र संक्रमितपछि संक्रमितको परिवारका कारण पनि कोरोना संक्रमणको स्थिति विकराल हुन नपाएको हो । सरकारले सीमामा छेक्यो । संक्रमितले पनि सरकारी प्रवन्ध असफल बनाएर महाकाली तरेरै गाउँ पसे । तर परिवारको सजगताका कारण घर पस्न पाएनन् र स्थानीय निकायको जिम्मा लगाइए । उनी तुरुन्तै क्वारेन्टाइनमा राखिए र उनको जाँचको नतिजा सकारात्मक देखियो । यो सुदूरपश्चिमको घटना हो । त्यो सुदूर जो जनचेतना कम भएको र पिछडिएको समाज भनेर चिनिन्छ । त्यहाँका मानिसमा पनि यो किसिमको चेतना हुनुले ठूलो दुर्घटना टर्यो । संक्रमित सजग नहुँदा पनि संक्रमण रोक्न सकिने रहेछ ।

 

नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको जनवरी २३ तारिखमा हो । त्यसपछि कोरोना देखिएको देशहरुमा समस्या निकै जटिल बनिसक्यो । तर नेपालमा हालसम्म पनि एकदमै भयावह स्थिति आएको छैन । आँकलन के गरिएको थियो भने संक्रमण फैलिसकेको छ तर जाँचको अभावमा त्यो देखिएको छैन । तर देशमा द्रुत जाँचहरु हुन थालेपछि पनि संक्रमितहरुको संख्या त्यति आकासिएको देखिँदैन । हालसम्म भेटिएका संक्रमितको स्वास्थ्य स्थिति पनि सामान्य नै पाइएको छ । कतिमा त लक्षणसम्मै पनि देखिएको छैन । जाँचको मात्रा थोरै भएको भए पनि यदि संक्रमण व्यापक भइसकेको हुँदो हो त अस्पतालमा विरामीहरुको चाप बढ्ने थियो । हुन त यस्ता जिज्ञासाहरु कहिले कही समस्यामा पार्छन् । गंगालालका चिकित्सक रामेश कोइरालाको यस्तै जिज्ञासालाई नै गलत व्याख्या गरेर उनको ट्वीटरमा खोइरो खनिएको धेरै भएको छैन । र पनि सबैमा जिज्ञासा त छ नै । हामीकहाँ किन स्थिति भयावह भएन ?
हुन त ‘कोरोना हटिजा’ भनेर रुमालले झार्नेदेखि लिएर ‘सगरमाथा, लुम्बिनी र पशुपतिनाथको देश भएकोले कोरोना आउँदैन’ भनेर अतिरञ्जना फैलाउनेहरुको कमी हामीकहाँ नभएको हैन । त्यस्तै कोरोनेश्वर महादेवका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापकरुपमा नबाँडिएको पनि होइन । तर यो लेखको प्रयास त्यस्ता आधारहीन कारणहरुका बारेमा कुरा गर्ने भन्दा पनि विगतका तथ्याङ्क र समाचारहरुले के देखाए भन्ने कुराका बारेमा विश्लेषण गर्ने हो । हामीकहाँ अप्रिल १४ सम्म कोभिड १९ का १४ संक्रमित पुष्टि भइसकेको अवस्था छ । सुरुवाती दिनका संक्रमितहरुको संसर्ग पहिचान गर्ने काम पनि धेरथोररुपमा भएको छ । तिनै प्राप्त उपलब्धी र प्रयासहरुको आधारमा नै नेपाललाई कोरोनाबाट बचाउनेहरुको खोजी गर्ने जमर्को मैले गरेको हुँ । हेक्का रहोस् यी कुनै ठोकुवा हैनन् बरु सम्भावित आधारहरु भने हुन् ।
१. सरकारको प्रयासः सरकारको विरोध धेरै भएको भनेर सत्तासिनहरु विचलित नहोउन् भन्नको लागि सरकारलाई सूचिको पहिलो नम्बरमा राख्न मन लाग्यो । हो व्यक्तिगत सुरक्षा सामग्रीको खरीदमा ‘भ्रष्टाचारको आशंङ्क’ गरिएको छ, । महाकालीपारी नेपालीहरु आफ्नै देशमा आउनबाट रोकिए । बन्दाबन्दीको अवस्थाले धेरैलाई बेरोजगार बनायो र देशभरिका सडकहरुमा काम र माम गुमाएका श्रमिकहरुको लर्को देखियो । सुरक्षा सामग्रीको अभावमा कोरोनाका डरले स्वास्थ्यकर्मीले एक अस्पतालबाट अर्को अस्पताल दौडाउनाको कारण विरामीले ज्यान गुमाएको समाचार पनि देखियो । तर तमाम कमजोरीका बाबजूत बन्दाबन्दीको घोषणाले सामाजिक दुरी कायममा सहयोग पुगेकोले व्यापक संक्रमण फैलन पाएन । त्यस्तै अन्तर्राष्ट्रिय उडान बन्द गरेदेखि भारत बाहेकका देशसँग सहज सीमा नजोडिएको अवस्थामा संक्रमित भित्रन सक्ने सम्भावना पनि कम भयो । ‘भावनात्मक नभएर’ कालीपारीकालाई वारी नआउन दिनुले पनि संक्रमण नेपालमा भित्रिएन । (ती आपसमा कति संक्रमित छन् र कतिलाई सरेको छ भन्ने तथ्य पछि आउला ! तर नेपालमा भित्रिन नपाएको सहि हो ।)
नेपाल सरकारको परीक्षण ढिलो सुरु भएपनि हाल त्यसको अवस्था सम्मानजनक छ । सार्क राष्ट्रहरुमध्ये प्राप्त तथ्याङ्कका आधारमा आवरवल्र्डइनडेटा डटकममले प्रकाशित गरे अनुसार पाकिस्तान, भारत र बंगलादेशमा क्रमशः प्रति एक लाखमा ४४, २४ र ११ जनाको जाँच गरेको देखिएको छ । त्यो तथ्याङ्क नेपालको हकमा १९ हजार ४५४ द्रुत पहिचान गर्ने जाँच (आरडिटी) र आठ हजार १३ बहुलकरस श्रृंखला अभिक्रिया अर्थात पोलिमरेज चेन रियाक्सन (पिसिआर) विधिवाट गरिएको जाँच जोड्दा प्रति एक लाखमा करिव ९२ जनाको जाँच हुने गरेको छ । पाकिस्तान भन्दा दुई गुणा बढि र भारतभन्दा लगभग चार गुणा नै बढि यो संख्या उच्च नै मान्नुपर्छ । अप्रिल १३ देखि प्रतिदिन एक लाख जाँच गरिरहेको र अन्तसम्ममा प्रतिदिन दुई लाखको जाँचको क्षमता पु¥याउन प्रयासरत जर्मनी जस्ता देशहरुसँग कमजोर आर्थिक अवस्थाको देशको तुलना गरेर हीनताबोध लिनु जायज हुँदैन । कोरोनाबाट संसारकै सुरक्षित मानिएको इजरायल जहाँ एक लाखको जनसंख्यामा दुई हजार ५४३ जाँच भएको छ र अर्को अनुकरणीय नियन्त्रणको उपाय अपनाएको दक्षिण कोरिया जहाँ एक लाखमा दुई हजार ४३८ को जाँच भएको देशसँग तुलना गरेर साध्य हुन्छ । जे होस् हाम्रो आसपासका देशहरुभन्दा राम्रो अवस्था हाम्रो छ । भुटान पछिको कम संक्रमित देश पनि नेपाल नै हो । वोल्डोमिटरका अनुसार हालसम्म आठ हजार १०७ जाँच मात्रै भएको भएपनि प्रति एक लाखमा त्यो संख्या १०५ जुन नेपालको भन्दा केहि बढि नै हुन जान्छ ।
त्यस्तै नेपालमा उपत्यका बाहेक ३० हजार ७५४ क्वारेन्टाइनमा शैय्या (शंङ्ककास्पदका लागि) र तीन हजार ७७ आइसोलेशन शैय्या (संक्रमितका लागि) को व्यवस्थापन पनि सराहनीय नै हो । हुन त यी तथ्याङ्कहरुमा भोलिका दिनमा संक्रमितको संख्या तीन हजार ७७ नाघ्यो भने के गर्ने वा कुन गतिमा शैय्याको संख्यामा बढोत्तरी गरिँदै छ भन्ने भन्ने विषयमा सरकारले जानकारी सार्वजनिक गरेको देखिँदैन ।
स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी पनि सरकार नै हुन् । तिनको परिचालनमा केही फेरबदल गर्न सकिन्थ्यो । विशेष गरेर प्रहरीलाई अलि ‘भावनात्मक’ बनाउन सकिन्थ्यो । स्वास्थ्यकर्मीलाई बेलैमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको भए सुदूरपश्चिममा विरामीले १८ घण्टासम्म बेवास्ताको सिकार हुनुपर्ने थिएन । यस्तो अवस्थामा काममा खटिएर सहयोग गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको विशेष योगदान छ । अग्रपंक्तिमा रहेर सरकारको दायित्व यिनैले पुरा गरिरहेका छन् । त्यसैले पनि यिनको सम्मानमा अहिले संसार झुकेको छ । आँखिर ज्यान बचाउन महामारीमा यिनीहरु नै चाहिने रहेछ । (त्यो सुरक्षाकर्मीको तलब काटेको कुरा यो बेला नगरौँ । हलुवामा बलुवा किन गर्नु ?)
२ संक्रमितहरुको सजगताः नेपालमा ३१ जना संक्रमित भेटिइसके । उदयपुरको घटनाका हकमा विस्तृत कुरा पछि आउला तर सुरुवाती दिनका संक्रमितहरु आफै अस्पताल पुग्नु र उनीहरुले अपनाएको सावधानीको कारण परिवारमा र छरछिमेकमा कोरोनाको संक्रम (एक जना बाहेक) नदेखिनुले संक्रमितको सजगताको कारण पनि कोरोना संक्रमण नफैलिएको भन्दा फरक नपर्ला । युरोपका संक्रमितहरुको जसरी उनीहरुले पनि कोरोना पार्टी लगायतमा सहभागी भएका भए के हुन्थ्यो होला नेपालको हालत ? जर्मनीमा प्रत्येक १० जनाले ७ जनालाई सार्ने तथ्याङ्कका आधारमा हाल खुकुलो व्यवस्था गरेको छ । जर्मन सरकारसँग १० ले १० जना सार्दा वा १० ले १३ जनामा सार्दा संक्रमितको चाप अस्पतालले कति दिनसम्म धान्न सक्छ भन्ने जानकारी समेत गराएर खुकुलो पारेको छ । नेपालमा ३० जना नयाँ संक्रमित देखिँदा उनीहरुको सम्पर्कमा आएको एक जनामा मात्र सरेको देखिएको छ । यो धेरै राम्रो स्थिति हो । त्यसैले संक्रमितहरुको सजगताका लागि उनीहरुलाई धन्यवाद दिनैपर्छ ।
संक्रमितहरुलाई हेयको दृष्टिले हेर्ने र उनीहरुका विषयमा अनर्गल प्रचारहरु गर्ने अवस्थाका कारण हाल आएर संक्रमितहरुले जाँच गराउन समेत डराएको अवस्था छ । चितवनका संक्रमितको हकमा त्यो कुरा देखियो । यदि विरामीहरुलाई यसरी नै हेयको दृष्टिले हेर्ने र उनीहरुका विषयमा अनर्गल प्रचारहरु गर्नेक्रम जारी राख्ने हो भने भोलिका दिनमा संक्रमित लक्षण देखिए पनि अस्पताल नजाने अवस्था नआउला भन्न सकिन्न । त्यसैले आफै स्वास्थ्यचौकी गएर जाँच गराउने र सावधानी अपनाएर संक्रमण फैलन नदिने संक्रमितहरुलाई सम्मान गर्नुपर्छ । उनीहरुको सजगतामा कमी आउने वित्तिकै समस्या विकाराल हुनेमा सायद कसैको दुई मत नहोला ।
३. संक्रमितका परिवारको सजगताः सरकार र संक्रमितपछि संक्रमितको परिवारका कारण पनि कोरोना संक्रमणको स्थिति विकराल हुन नपाएको हो । सरकारले सीमामा छेक्यो । संक्रमितले पनि सरकारी प्रवन्ध असफल बनाएर महाकाली तरेरै गाउँ पसे । तर परिवारको सजगताका कारण घर पस्न पाएनन् र स्थानीय निकायको जिम्मा लगाइए । उनी तुरुन्तै क्वारेन्टाइनमा राखिए र उनको जाँचको नतिजा सकारात्मक देखियो । यो सुदूरपश्चिमको घटना हो । त्यो सुदूर जो जनचेतना कम भएको र पिछडिएको समाज भनेर चिनिन्छ । त्यहाँका मानिसमा पनि यो किसिमको चेतना हुनुले ठूलो दुर्घटना टर्यो । संक्रमित सजग नहुँदा पनि संक्रमण रोक्न सकिने रहेछ । सरकारले छेक्न नसक्दा पनि परिवारले संक्रमण छेक्न सक्दो रहेछ । त्यसैले यो संकटबाट देशलाई जोगाउन हरेक व्यक्ति त्यत्तिकै जिम्मेवार छन् । नेपालको चौथो संक्रमित पनि श्रीमतिकै दवावका कारण अस्पताल गएका थिए । अस्पताल बसेको तीन दिनमा उनमा पनि कोरोना देखियो । एक अर्काको भूमिकालाई सम्मान गर्ने र संक्रमण देखिएको आधारमा व्यक्ति वा उसको परिवारलाई साममाजिक बहिस्कार जस्तो गर्ने अवस्था आउँदा भोलि यी पनि विरामी लुकाउनमा लाग्ने छन् । त्यसले यो अवस्थामा कुनै सकारात्मक भूमिका खेल्ने छैन । त्यसतर्फ चाहिँ संचार माध्यम र आमजनसमुदाय पनि सजग हुनुपर्ने देखिन्छ ।
४. भौगोलिक अवस्था ः नेपाल त्यसै पनि तीनतिरबाट भारतले घेरिएको र उत्तरबाट हिमालले घेरिएको देश हो । देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बित्तिकै भारत बाहेकको देशसँगको सम्पर्क लगभग विच्छेद नै हुन्छ । भुटानको अवस्था पनि लगभग नेपालको जस्तै हो । कोरोना संक्रमितको त्यहाँको अवस्था पनि अनुकरणीय नै देखिन्छ । पाँच जना संक्रमितबाट माथि उक्लेको छैन । बरु आर्थिक संकटको भने डर देखिएको छ । खुला गरिएका होटल ग्राहकको अभावमा बन्द प्रायः छन् । ट्याक्सीहरुमा दुई जना मात्र यात्रा गर्न पाइने व्यवस्था छ । कामदारको अभावमा र निर्माण सामग्रीको अभावमा केही योजना प्रभावित छन् । तर कोरोनाको संक्रमण नेपाल भन्दा पनि न्यून छ । सीमा बन्द छ । अत्यावश्यक सेवा खुला छ । अत्यावश्यक सेवाको परिभाषा नेपाल र भुटानमा फरक छ । पसलहरु ७ बजेपछि बन्द हुन्छन् । दिउँसो मानिस निस्कन पाउँछन् । दक्षिण कोरियाको अनुकरण गर्न नसके पनि भुटानको अनुकरण गर्ने हैसियत त नेपालले राख्छ नै ।
यी बाहेक पनि नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढि भएको, बिसिजी खोपको कारण नलागेको जस्ता कुराहरु पनि बाहिर आउने गरेका छन् । तर विसिजीको खोप सम्भवतः २०११ सालमा जन्मिएकी ६५ वर्षकी बाग्लुङ्गकी संक्रमितले सायदै पाइन होला । त्यस्तै रोग प्रतिरोधान्मक क्षमता बढि भएको भए त अमेरिकामा नेपाली संक्रमितहरुको ज्यान जाने थिएन । त्यसैले ती कुराहरु लेख्न जाँगर भएन । आशा गरौँ कोरोना रोगले भन्दा भोक र शोकले ज्यान जानेको संख्या बढि नहोस् । महाकालीपारी छोरो रोकिएको खबर पाएकी आमा हृदयघातले ज्यान गुमाउनु परेको घटना नदोहोरियोस् । मृत व्यक्तिलाई कोरोना संक्रमणको डरले अन्तिम संस्कार समेत नगरिएको घटना सुन्नु नपरोस् । त्यस्तै सुत्केरीले समयमै उपचार नपाउँदा ज्यान गुमाउनु परेको समाचार पढ्नु नपरोस् । भन्छन् नि रोग भन्दा उपचार भयावह हुनुहुँदैन । नेपालको हकमा त्यस्तो नहोस् ।
(लेखक पनेरु जर्मनी स्थित फ्राइबर्ग विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा स्नातोकोत्तर गरेर जर्मनीमै तथ्याङ्क विश्लेषणको क्षेत्रमा कार्यरत छन्) सभारःअनुमोदन खवर डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.