बर्दीबास। महोत्तरी जिल्लाको गौशाला बजारस्थित स्थानीय माछा बजार क्षेत्रमा शनिवार बिहान एक युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय गौशालाका अनुसार घटनास्थल पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतकको परिचय सर्लाही जिल्ला, हरिपुर्वा नगरपालिका–९ मिर्चियाका २५ वर्षीय रामानन्द बैठा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार बैठा विगत करिब तीनदेखि चार वर्षसम्म गौशाला क्षेत्रका विभिन्न होटलमा काम गर्दै जीविका चलाउँदै आएका थिए।
उनको मृत्युको कारण हालसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। तर, केही स्थानीयले उनी पछिल्ला दिनमा बिरामी रहेको र सोही कारण गएराति मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
तपाईको प्रतिक्रिया