वीरगन्ज। गत भदौ २४ गते ‘जेनजी आन्दोलन’को मौका छोपी नख्खु कारागार, ललितपुरबाट फरार भएका एक लागुऔषधसम्बन्धी कसूरका कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा पर्सा प्रहरीले फरार कैदी ३९ वर्षीय लालबाबु साहलाई वीरगन्ज महानगरपालिका–१०, रानीघाटस्थित उनको घरबाट पक्राउ गर्न सफल भएको हो।
ललितपुर जिल्ला अदालतले साहलाई लागुऔषध सम्बन्धी कसूरमा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार जरिवाना सजाय तोकेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, साह भदौ २४ गतेको आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी आफ्नै गाउँमा लुकीछिपी बस्दै आएको प्रहरीको भनाइ छ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले हिजो साँझ करिब ५ः३० बजे साहलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरि बहादुर बस्नेतले पक्राउ गरिएका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित नख्खु कारागार कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिए।
तपाईको प्रतिक्रिया