अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा प्राविधिक क्षेत्रका ८ कर्मचारी विरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एक महिना भित्र अख्तियारले दायर गरेको मुद्धाका आरोपीहरुले स्रोत नखुलेको २५ करोड ५ लाख ९२ हजार १ सय ३७ रुपैया बराबरको सम्पती जम्मा गरेका छन ।
बिशेष गरि प्राविधिक क्षेत्रका कर्मचारीहरु बढी भ्रष्ट रहेको अख्तियारको यो अनुसन्धानले देखएको छ । प्राविधिक कर्मचारीले हासिल गरेको प्राविधिक ज्ञान मुलुक निर्माणकालागि भन्दा पनि भ्रष्टाचार गर्नमा प्रयोग भएको यो तथ्यले देखाएको छ ।
वैध रुपमा गरेको आम्दानीको तुलनामा उनीहरुले गरेको खर्च तथा सम्पत्तिको स्रोत समेत देखाउन नसकेका कारण अख्तियारले ती कर्मचारीको सम्पत्ति अवैध रहेको ठहर गरेको छ ।
अख्तियारले गत जेठ २७ गते नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काफ्ले विरुद्ध ५ करोड ४३ लाख २७ हजार बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।
अख्तियारले असार २५ गते सडक विभाग अन्तर्गत हाल मध्यपहाडी पश्चिम लोकमार्ग सडक आयोजना तुल्सीपुरमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र शाक्य विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाक्यले पदको दुरुपयोग गरी २ करोड २५ लाख चार लाख १० हजार बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ ।
त्यस्तै, अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभाग क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालयका नेपालगन्जका सिनियर डिभिजनल इन्जिनियर पूर्णप्रसाद उपाध्याय विरुद्ध मुद्दा दायर गर्यो । उनी विरुद्ध ३ करोड १० लाख २७ हजार १५३ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।
अख्तियारले असार २२ गते भौतिक पूर्वाधार तथायातायात मन्त्रालय मातहतको सडक विभागका तत्कालीन सुपरिटेन्डन्ट इन्जिनियर चन्द्रनारायण यादव विरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गर्यो ।
अख्तियारले उनी विरुद्ध १ करोड ८५ लाख ११ हजार ७२८ बराबरको अवैध सम्पत्ति कमाएको अभियोग लगाइ मुद्दा दायर गरेको छ ।
अख्तियारले यही असार २१ गते नेपाल बैंक लिमिटेड डिल्लीबजारका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइराला विरुद्ध ५४ लाख ८४ हजार ४५ बराबरको आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दायर गर्यो ।
असार १९ गते सडक विभागका गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाटका इन्जिनियर भरतराज आचार्य विरुद्ध ३ करोड २१ लाख ६२ हजार ४८० बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्यो ।
असार १६ गते अख्तियारले नेपाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त फोरमेन टहलबहादुर कार्की विरुद्ध १ करोड ९ लाख ८७ हजार ६५८ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्यो ।
असार १६ गते नै खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरीका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्य विरुद्ध १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको मुद्दाको प्रकृति हेर्दा अधिकाशंले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीको सेयर खरीदमा प्रयोग गरेको पाइएको छ । यस्तै, धेरै जसोले सवारी साधन तथा घर जग्गा खरीदमा गैरकानूनी रुपमा आर्जन गरेको रकम खर्च गरेको पाइएको छ ।
अवैध कोटेशन तयार पार्ने, आयोजनाको शुरुवातदेखि अन्तिममा बिल फर फारक गर्ने समयमा समेत उनीहरुले घुस लिने गरेको देखिन्छ ।
विशेष गरी प्राविधिक कर्मचारीले नक्कली कागजात बनाउन आफै लगाउने र सो वापत पैसा माग गरेको पाइएको छ ।
तपाईको प्रतिक्रिया