वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले नेपाल–भारत सीमाबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज–५ कुम्हाल टोल निवासी १८ वर्षका सुमित कुमार मण्डल र जितपुरसिमरा उपमहानगरपालिका–८ बस्ने २८ वर्षका सन्जय कुमार साह कलवार रहेका छन्।
बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका–५ नजिकै रहेको नेपाल–भारत सीमा स्तम्भ नम्बर ३९/२२ को आसपासबाट गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी उपरीक्षक पूर्ण भट्टले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरू झाडीभित्र लुकीछिपी बसिरहेका बेला शंका लागेपछि तलासी लिँदा उनीहरूको साथमा रहेको बोराभित्र एक थान कटुवा पेस्तोल बरामद गरिएको हो।
सीमाक्षेत्रमा गस्तीका क्रममा उनीहरू शंकास्पद अवस्थामा देखिए। तलासी गर्दा हातहतियार फेला परेकोले तत्काल नियन्त्रणमा लिइएको भट्टले जनाए ।
सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मा लगाएको जनाएको छ।
पर्सा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू सशस्त्र गतिविधि वा अन्य आपराधिक समूहसँग आबद्ध हुनसक्ने आशंका गरिएको प्रहरी स्रोतले जनाएको छ।
तपाईको प्रतिक्रिया