logo

‘ट्रेड टावर’ काठमाडौँलाई आवश्यक छैन

      5/9/2017 गते 00 00 मा प्रकाशित     1632   पटक पढिएको

काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरलाई सुन्दर बनाउने प्रतिबद्धता यतिखेर महानगर प्रमुखका उम्मेदवारहरूबाट व्यक्त भइरहेका छन् । काठमाडौँलाई अत्याधुनिक सुविधा सम्पन्न सहर बनाउने हो वा मौलिक कला र संस्कृतिको बेजोड नमुनायुक्त यो ठाउँलाई ‘सांस्कृतिक सहर’को हैसियत दिने हो भन्नेमा उम्मेदवारै पिच्छे फरकफरक धारणा देखा परेका छन् । स्थानीय तह निर्वाचनमा उठेकाहरू लोभलाग्दा योजनाहरू अघि सारेर जसरी भए पनि महानगरवासीको मन जित्ने कोसिसमा छन् ।

    
काठमाडौँ विश्वकै यस्तो महानगर हो जहाँ विश्व सम्पदा सूचीमा सूचीकृत थुप्रै धार्मिक र सांस्कृतिक सम्पदाहरू अवस्थित छन् । स्वयम्भू, पशुपतिनाथ, बौद्धनाथ, हनुमानढोका दरबारक्षेत्र जस्ता सम्पदाहरूका कारण काठमाडौँ महानगर विश्वभरका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।

    
कुनै बेला यस महानगरका प्रमुखले स्वच्छ, सफा र हराभरा काठमाडौँको नारा दिएर काम गरेका थिए । त्यतिबेला महानगरका लागि अत्यावश्यक केही पूर्वाधार तयार पनि भए । यतिखेर मेट्रो रेल मोनो रेलदेखि वाइफाइ फ्री सिटीसम्मका योजनाहरूको चर्चा भइरहेको छ ।

    
नारा र आश्वासन जे जस्ता आए पनि पिउनेपानी, ढल, बिजुली जस्ता आधारभूत पूर्वाधारको अभाव र फोहर व्यवस्थापनको समस्याबाट धेरै समयअघिदेखि महानगरवासी आक्रान्त छन् । यिनै समस्यामा थपिएका छन् सडक विस्तार, त्यसका कारण भत्के भत्काइएका सडक र घरहरू, अनि ध्वनि र धुलोको डरलाग्दो प्रदूषण ।

    
सडक विस्तारले यहाँका स्थानीयवासीमाझ आतङ्क मच्चाएको छ । पीडितहरूले क्षतिपूर्ति पाइरहेका छैनन् । ठूल्ठूला अस्पताल सहरको मध्यभागमा अवस्थित छन् । जनसङ्ख्याको तुलनामा सडक साँघुरिएका छन् । संक्षिप्तमा भन्दा भूकम्पपछि काठमाडौँ महानगरवासीको जनजीवन अस्तव्यस्त र अन्योलपूर्ण भएको छ ।

    
यसैबीच केही उम्मेदवार कला, कौशल, जात्रा, पर्व, मठ, मन्दिर र विविध संस्कृतिले भरिपूर्ण यो महानगरको मौलिक स्वरुप बिगार्न नहुनेमा जोड दिइरहेका छन् भने केहीले अत्याधुनिक सुविधा र प्रविधि थप्दै लानुपर्नेमा जोड दिइरहेका छन् ।

    
यी समस्याहरूमाझ स्थानीय तहको मुद्दा के के हुन् त ? वडा नम्बर १३ को चुनावीसभामा वडाध्यक्ष पदका एक उम्मेदवारले मतदातासामु भने – मैले वडाध्यक्षमा जितें भने वडा कार्यालयलाई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोल्छु र कार्यालय समयका अतिरिक्त कार्यालय खोलेर दिउँसो नभ्याउने नागरिकलाई सेवा दिन चाहन्छु ।

    
उनका अनुसार स्थानीय तह नियमावलीको मस्यौदामा वडालाई १२ कक्षासम्मको विद्यालयलाई अनुगमन गर्ने अधिकार दिइएको छ र स्वास्थ्य केन्द्र वा अस्पताललाई आफ्नो वडाभित्र राख्ने वा नराख्ने भन्नेसम्मको अधिकार स्थानीय तहलाई छ ।

    
धार्मिक स्थल, पाटीपौवाको संरक्षण, खुला स्थानको व्यवस्था, फोहर व्यवस्थापन जस्ता विषयका अतिरिक्त उनले कालीमाटीस्थित क्षयरोगको उपचार गर्ने एक अस्पताललाई सहर र बस्तीको मध्यभागबाट अन्यत्र सार्नैपर्ने र जितेको खण्डमा त्यो काम आफूले गर्ने अठोट पनि उनले सुनाए ।

    
महानगर नै हाँक्ने उम्मेदवारका नारा र आश्वासन स्वाभाविक रुपले ठूला र ग¥हुँगा हुने नै भए । राजनीतिक दलहरूका तर्फबाट काठमाडौँ महानगरभित्र ‘फ्लाई ओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको खेलकुद रङ्गशाला निर्माण, पाँच वर्षभित्र मेट्रो रेल निर्माण र निःशुल्क वाइफाइसम्मका योजना अघि सारिँदै छ ।

    
सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, खानेपानीको पाइप जडान, विद्युतीय सवारीसाधन, फोहर व्यवस्थापन, सम्पदा संरक्षण, नदीनालाको संरक्षणजस्ता विषय सबै दलको साझा योजनाको रुपमा प्रस्तुत भएका छन् ।

    
नेपाली काँग्रेसका महानगर प्रमुखका उम्मेदवार राजुराज जोशी काठमाडौँबाट जनताको पलायन रोक्न पनि भूकम्पपीडितलाई २५÷३० वर्ष अवधिको ऋण सुविधा उपलब्ध गराएर घर बनाउन दिनुपर्ने र यहाँको मौलिकतालाई जोगाइराख्नुपर्नेमा जोड दिनुहुन्छ । चलनचल्तीको मोलअनुसार क्षतिपूर्ति नदिई काठमाडौँमा एक इन्च पनि जमिन अधिग्रहण नगर्ने उहाँको प्रतिबद्धता छ ।

    
आन्तरिक आप्रवासनको समस्याले महानगरलाई कुरुप बनाएकामा चिन्तित काठमाडौँवासीले भित्री सहरमा नमुनाका रुपमा पुरानै शैलीमा एकीकृत बस्ती निर्माणको काम थालेका छन् । भूकम्पले भित्री सहरका धेरै घरलाई क्षति पु¥याएपछि एकीकृत बस्तीको आवश्यकता महसुस गर्दै स्थानीय जनताले यसमा पहलकदमी लिएका छन् ।

    
नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमका प्रमुख पदका साझा उम्मेदवार पवित्र बज्राचार्य यस्तो पहल भूकम्प जानुभन्दा ५÷६ वर्षअघि वडा नं २३ मा थालिएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार त्यतिखेर वसन्तपुर, चिकंमुगल, मजिपाट जस्ता टोलका ७३२ घरलाई मिलाएर एकीकृत बस्ती निर्माण गर्न खोजिएको थियो र सर्वेक्षण र नक्सा निर्माणसम्मको काम भएको थियो तर यो कामको जश कसैले लिनेभयो भनेर पछि पन्छाउने काम भयो ।

    
खानेपानी, ढल र टोलकै सफाइ गर्न असमर्थ काठमाडौँवासीलाई ट्रेड टावरजस्ता संरचनाको आवश्यकता नरहेको र काठमाडौँभित्र रहेका व्यापारिक मलहरूमा व्यापार नभएर त्यहाँका व्यापारीले बहाल बुझाउन नसकिरहेको तथ्य पनि उहाँ औँल्याउनुहुन्छ ।

    
साझा पार्टीका तर्फबाट प्रमुख पदका लागि उम्मेदवार बन्नुभएका किशोर थापा नेवार संस्कृति र सम्पदाको केन्द्रको रुपमा काठमाडौँ महानगरलाई विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । ‘करुणामय राजनीति’ गर्ने अठोटसहित राजनीतिमा होमिएको बताउने उहाँ काठमाडौँको कला र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनबाट आयआर्जन बढाउनु पर्ने धारणा राख्नुहुन्छ ।
 
    
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोल वाग्मती र विष्णुमतीको किनारैकिनार रेल बनाउनुपर्ने योजना अघि सार्नुहुन्छ । उज्यालो नेपाल अभियानलाई अगाडि बढाउने, राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरभित्र मापदण्ड विपरीतका निर्माण भएका घरको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्ने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।

    
स्वतन्त्र उम्मेदवार गोर्की श्रेष्ठ मातृभाषाबाट विद्यालयमा शिक्षा दिने व्यवस्था गर्न, अव्यवस्थित बसोबास रोक्न र खानेपानी आपूर्तिमा भइरहेको अव्यवस्था र चुहावट रोक्न आफू लागिपर्ने बताउनुहुन्छ ।
    
    
महानगरलाई चौबिसै घन्टा खुला बनाउने तथा पर्यटकीय आकर्षणको प्रमुख गन्तव्य बनाउने पार्टीको कार्ययोजनालाई मूर्तरुप दिने अठोट व्यक्त गर्नुहुन्छ, नेकपा (एमाले)बाट प्रमुख पदमा उम्मेदवार बन्नुभएका विद्यासुन्दर शाक्य । मेट्रो रेलको अवधारणा आफ्नो दलले ल्याएको र समृद्धिका लागि यस्तो परिवर्तन जरुरी रहेको उहाँ बताउनुहुन्छ । भवन निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्नुपर्ने खाँचो पनि उहाँ देख्नुहुन्छ ।

    
काठमाडौँको गौरवपूर्ण इतिहास र वैभवशाली सांस्कृतिक परम्परालाई धान्दैआएका यहाँका मूलवासी नेवारहरू भने मातृभाषा शिक्षा र स्थानीय निकायमा नेपाल भाषालाई कामकाजी भाषाकै रुपमा मान्यता दिनुपर्ने पक्षमा उभिँदैआएका छन् र नेवाः जागरण मञ्चको एक छलफल कार्यक्रममा उनीहरूले यसतर्फ पनि उम्मेदवारहरूको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.