बीरगंज १६ चैत । बिहानको झिसमिसेमै बिभिन्न समुहमा बिभाजीत ५० जना गाउँ छेउको खेत र नदि छेउमा पुग्छन ।
उनीहरुको साथमा सिठी,पहेलो झण्डा साउण्डबक्स टर्च लगायतका सामाग्री पनि हुन्छन । खेत र चौरको गस्तीमा हिडेको यो समुहका कारण खुला स्थानमा शौच गर्नेहरुमा भागाभाग हुन्छ ।
मानौ खुला स्थानमा शौच गर्नेहरु अपराधी हुन त्यो अपराध नियन्त्रण गर्न बन्दोबस्तीका सामान सहित गस्ती परिचालीत भएको छ । बिहानको झिसमिसे र बेलुकाको समयमा टोलीले खुला ठाउँमा शौच गर्न नदिने गरि गस्ती हुन्छ ।
यस्तो दृश्य अहिले पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ४ साविकको लखनपुरको एक्डेरवाको एक्डेरवा टोलमा देख्न पाइन्छ । ५० जनाको लाई चार वटा समुहमा बिभाजन गरि परिचालन गरिन्छ । लैङ्गिक रुपमा पनि त्यसको सम्बेदनशिलतालाई पनि ख्याल गरिएको हुन्छ ।खुला ठाउमा शौच गर्ने महिलाहरुको क्षेत्रमा महिला नै परिचालन भएका हुन्छन ।
गस्तीटोलीको कमाण्ड स्वयं वार्डका अध्यक्ष लाल बहादुर यादवले गर्ने गरेका छन । उनीसंगै वार्ड सदस्यहरु,ग्रामीण महिला स्वास्थ्य स्वंय सेविकाहरु,नागरिक समाजका अगुवा बालक्लवका पदाधिकारी सदस्यहरु र सामाजिक कार्यकर्ताहरु रहेका हुन्छन ।
अजकल बिहान बेलुकाको गस्ती उनीहरुको दैनीकी बनेको छ । जिल्लाका ४२ वटा वडा (साविकका गाविस )हरु खुला दिशामुक्त घोषणा गरिएका छन । गस्तीमा भएकाहरुले ठाउँका ठाउँ खुला ठाउमा शौच गर्न आउनेहरुलाई परामर्श दिने गरेका छन । खुला ठाउमा शौच नगर्न दवाव सृजना गर्छन । जसले गर्दा सामाजिक लज्जा हुने र ब्यक्तिको प्रतिष्ठामा समेत आँच आउने भएकोले चर्पी निर्माण हुन थालेको पाइएको छ ।
पहिला सरसफाईका बिषयमा अभियान चलाउदा खासै प्रगती नभएको वार्ड अध्यक्ष लाल बहादुर यादवको अनुभव छ । तर अहिले बिहानबेलुका नै गस्तीगर्न थालेपछि परिणाममै प्रगती देखिन थालेको यादव बताउनुहुन्छ ।
एक हप्तामा ३ सय ७५ वटा चर्पी निर्माण भएको देखेर अध्यक्ष यादव नै दंग पर्नु भएको छ । बाहिर शौच गर्न दिइदैन त्यसपछि त चर्पी बनाउन त बाध्यता नै हुने भयो अध्यक्ष यादवले भन्नु भयो एकले गरेको देखासिकी अर्कोले पनि निर्माण गर्न थालेपछि यस्तो प्रगती भएको हो ।
स्थानीयले गस्ती टोलीलाई बिभिन्न आरोप नलगाएका होइनन बिभिन्न खाले धम्की पनि दिएकै छन । महिला गस्तीटोलीमा सहभागाी स्वास्थ्य स्वयंसेविका पार्वतीदेवीको पनि तितो अनुभव छ । उनलाई खुला ठाउमा शौच जाने महिलाहरुलेनै एनजिओको दलाली गरेको आरोप लगाउछन । टोलीसंग घुमे वापत तिमीले त पैसा पाउछौ हामीले के पाउछौ र ? भनेर प्रश्न गर्ने गरेको उहाँले सुनाउनु भयो । एक जना दिदीले भजालोले हानैर गस्ती नआउन समेत चेतावनी दिएको उहाँले सम्झिनु भयो । कतिपय युवाहरुलाई स्थानीयले निकृष्ट खालको बचन प्रयोग गर्ने गरेका छन ।
चर्पी बनाउन आग्रह गर्दा “तेरो बाउले दिन्छ ?” भन्ने जस्ता बचनहरु सुन्नु परेको अनुभव छ जिल्लाजीत राउत गद्धीको । एक जनाले त अव उप्रान्त गस्तीटोली आए भालाले रोपीदिने धम्की समेत दिए । यस्तो धम्की ,हेपाई,घृणायुक्त बचन सबै सहेरै भएपनि समाजलाई सरसफाईयुक्त बनाउने अभियानभने चलिरहेको युएन ह्याविटाट पर्साका कार्यक्रम संयोजक सरोज चौरसियाले बताउनु भयो ।
अहिले चर्पी त बन्यो तर यसको दीगो प्रयोग चाही होला की नहोला भन्ने चिन्ताले गस्ती टोलीलाई सताएको छ । पानीको उपलब्धता,खुला जमिन र खुला ठाउमा शौच गर्ने परिपाटीले पाएको सामाजिक स्वीकारोक्ति जस्ता कारणले स्थानीयको बानी ब्यवहारमा परिर्वतन आउला कि नआउला भन्ने चिन्ता चाही स्वभाविक पनि छ ।
अभियान संचालनबाट आएको प्रगतीलाई दिगो राख्ने र पूर्ण सरसफाईयुक्त बनाउनकालागि वार्डमा स्थायी रुपमा थप जनशक्ति परिचालन आवश्यक रहेको सामाजिक कार्यकर्ता लक्ष्मन पंडितको भनाई छ ।
पछिल्ला केही वर्षमा कतिपय गाविसले खुलादिशामुक्त अभियानमा साविक गाविसहरुले गाविसको रकम नै अनुदानमा दिएकोले पनि अहिले त्यसको कुप्रभाव देखा परेको बताउनुहुन्छ मुकेश पंडित । त्यसरी दिइएको अनुदान टाठाबाठाहरुले लिए गरिब गुरुवा भने रित्तै ।
अनुदान दिने सारकारी नीति छैन । अहिले अनुदानको पर्खाइमा चर्पी बनाउने काम ढिलो भएको छ । गाउँका हुने खानेहरु पनि अनुदानको पर्खाइमा भएपछि समस्या आएको हो । अनुदान दिने बिगतको अभ्यासले अहिले पनि गाउँहरुमा द्वण्द्व छ । लखनपुर एक्डरवामा कुल ६ सय ६७ घरधुरी रहेको छ । जस मध्य ८० घरमा मात्र चर्पी थियो । गस्ती अभियान पछि ६ सय २५ घरधुरीमा चर्पी निर्माण भएको छ । सिगो पर्सा जिल्लामा भने ८६ प्रतिशत घरमा चर्पी भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया