वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीमा उत्साह बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरूलाई विद्यालय पोशाक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकारी दिए।
उनका अनुसार विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका छात्राहरूलाई विद्यालय आउन प्रेरित गर्ने र सबै विद्यार्थीमा एकरूपता कायम गर्न यो पहल गरिएको हो।
अध्यक्ष यादवाले शिक्षा क्षेत्रमा सुधार र विद्यार्थीहरूका लागि आवश्यक सहयोग निरन्तर गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले विद्यालय पोशाकले विद्यार्थीमा अनुशासन, समानता र अपनत्वको भावना जगाउँदै शैक्षिक वातावरणलाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
दीपावली र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
गाउँपालिकाले हालका वर्षहरूमा शिक्षा पूर्वाधार, छात्रवृत्ति र सिकाइ सुधारका थुप्रै पहलहरू गर्दै आएको छ।
अध्यक्ष यादवका अनुसार गाउँपालिकाले ‘सबैका लागि शिक्षा, गुणस्तरीय शिक्षा’ भन्ने लक्ष्यका साथ आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने तयारी गरेको छ।कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख भरत गिरी लगायतका समाजका बिभिन्न अगुवाहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया