जनकपुरधाम । आर्थिक वर्ष २०७/७८ नेपाल प्रहरीको तथ्यांक अनुसार ७ हजार १ सय ४१ जना नागरिकले आत्महत्याबाट ज्यान गुमाएका छन्, अर्थात् दैनिक २० जना व्यक्तिले आत्महत्याकै कारण ज्यान गुमाइरहेका छन्।
त्यसैगरी विश्वभर बर्सेनि झन्डै आठ लाख मानिसले आत्महत्याकै कारण ज्यान गुमाइरहेको विश्व स्वास्थ्य संगठनको आँकडा रहेको छ। त्यसैले आत्महत्या एउटा गम्भीर जनस्वास्थ्य समस्याको रूपमा देखा परेको छ र यसको रोकथामका निम्ति गम्भीर ध्यानाकर्षणको जरूरी छ।
आत्महत्या सम्बन्धी संचार माध्यमले जिम्मेवार रिपोटिङ कसरी गर्ने भन्ने सम्बन्धमा बिश्व स्वास्थ्य संगठन र राष्ट्रिय स्वासथ्य शिक्षा सूचना तथा संचार केन्दले जनकपुरमा बिहिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा यो बिषयको गाम्भिर्यताका सन्र्दभमा छलफल भएको हो ।
उचित सावधानी अप्नाएको खण्डमा अधिकांश आत्महत्याका घटना रोक्न सकिन्छ भन्ने पाइएको छ। त्यस्ता उचित कदम र सावधानीमा आत्महत्याको घटनाका बारे गरिने जिम्मेवार मिडिया रिपोर्टिङ पनि एक प्रमुख कदम भएको कार्यक्रममा निष्कर्ष निकालिएको छ ।
विश्वव्यापी रूपमा गरिएका अध्ययन अनुसन्धानले आत्महत्याका घटनाको सही ढंगले रिपोर्टिङ गर्दा आत्महत्याका घटनामा उल्लेख्य रूपमा कमी आएको र गलत रिपोर्टिङले त्यस्ता घटनाको जोखिम बढाएको देखाएका छन्।
जोखिममा रहेका व्यक्तिहरुले संचारमाध्यममा आएका आत्महत्याको खबर पश्चात् त्यस्तै विधि अपनाई आत्महत्याको प्रयास गर्ने जोखिम हुन्छ। आत्महत्याका बिषयमा सोच्नेहरुले त्यस्ता घटना अनुकरण गर्ने (कपीक्याट) गरेको पाइएको छ ।
यदी समाचारमा घटनाको विवरण सनसनीपूर्ण, प्रमुखताका साथ, आत्महत्याको माध्यमको विस्तृत विवरणसहित प्रकाशित गरिएको छ वा त्यसले आत्महत्या सम्बन्धी व्याप्त मिथ्या धारणाहरुलाई प्रश्रय दिएको छ भने अझै बढी जोखिमपूर्ण हुन्छ। विशेषगरी ख्याति प्राप्त व्यक्तिहरुको आत्महत्याको सही ढंगले रिपोर्टिङ नगर्दा देखासिकी गरी गरिने आत्महत्याका घटनाहरुमा उल्लेख्य बृद्धि हुने गरेको पाइएको छ।
अझ अहिले सोसल मिडियाको जमानामा त सनसनीपूर्ण शीर्षक राखेर बनाइएका अफवाहपूर्ण समाचारहरु निकै सजिलै फैलिने भएकाले यस बारेमा सबै संचारकर्मीहरुले विशेष ध्यान दिनु जरूरी छ।
त्यसैगरी सोसल मिडियामार्फत मूलधारका मिडिया मात्र होइन प्रयोगकर्ता आम नागरिकका पोष्टहरु पनि सजिलै व्यापक रूपमा फैलन सक्ने भएकाले हामी हरेक नागरिकले आत्महत्याका घटनाको बारे आफ्ना सामाजिक संजालमा पोष्ट गर्दा विशेष ध्यान दिनु जरूरी देखिन्छ।
अर्कातिर आत्महत्याका बारे जिम्मेवार रिपोर्टिङले आम जनमानसलाई आत्महत्या र यसको रोकथामका बारे शिक्षित गर्न मद्दत गर्ने, आत्महत्याको जोखिममा रहेका व्यक्तिहरुलाई वैकल्पिक निर्णय लिन प्रोत्साहन गर्ने तथा समाजमा खुल्ला र आशापूर्ण अन्तरक्रियाका निम्ति समेत प्रेरणा दिनसक्छ। कठिन परिस्थितिमा सहायता मागेका र सकारात्मक ढंगले सामना गरेका कथा र फिचरहरुले आत्महत्या रोकथाममा मद्दत पुग्नसक्छ। आत्महत्याको मिडिया रिपोर्टिङ गर्दा वा सामाजिक संजालमा पोष्ट गर्दा पनि सावधानी अप्नाउनु पर्नेछ ।
हाल नेपालमा आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन ११६६ उपलब्ध रहेको छ जसमा चौबीसै घण्टा फोनमार्फत आत्महत्याको सोचाइ आउँदा निःशुल्क मनोपरामर्श लिन सकिन्छ। हाम्रो समाजमा आत्महत्याका बारे धेरै भ्रम छन् जसले गर्दा पनि त्यस्ता घटनालाई बढावा दिनसक्छ। त्यसैले आत्महत्याका घटनाको रिपोर्टिङ गर्दा समाजमा व्याप्त मिथ्या धारणालाई चिर्ने र सत्यतथ्य पस्किने ढंगले गरिएमा आत्महत्या रोकथाममा सकारात्मक प्रभाव पार्न सक्छ।
यस अघि कार्यक्रमको मधेश प्रदेशका स्वास्थ्यमंत्री बिरेन्द्र सिंहले शुभारम्भ गरेका थिए । उनले आत्महत्या न्यूनीकरणकोलागि मधेश सरकारले प्रभावकारी भूमीका खेल्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लाछिाने , मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण महासचिव श्याम बन्जारा ,संघीय स्वास्थ्य मंत्रीक प्रेस सल्लाहकार रामचन्द्र दुलाल स्वास्थ्य मंत्रालयका सचिव लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा डा.बासुदेव कार्की र डा.पल्लवी कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । डा. कार्कीले आत्महत्याका कारण र अहिलेको अवस्थाको बारेमा चर्चा गरेका थिए भने डा.कोइरालाले आत्महत्या न्यूनीकरणका लागि निर्माण गरिएको १२ बूदे मार्गदर्शनका बारेमा चर्चा गरेकी थिइन । बिश्व स्वास्थ्य संगठनका तर्फबाट डा. रश्मी मानन्धरले ब्यवस्थापन गरेको कार्यक्रमको अध्यक्षता भने राष्ट्रिय स्वासथ्य शिक्षा सूचना तथा संचार केन्द्रका निमित्त निर्देशक शिला श्रेष्ठले गरेकी थिइन ।
तपाईको प्रतिक्रिया