जनकपुरधाम । वीरगञ्जमा लामो समयदेखि जारी रहेको खानेपानी संकट अब एक स्थानीय समस्या मात्र रहेन, यो प्रदेशस्तरीय चिन्ताको विषय बनेको छ।
मधेश प्रदेश सभा सदस्य श्याम पटेलले प्रदेश सरकारको ध्यान यतै केन्द्रित गराएका छन्। मातृभाषा भोजपुरीfमा बोल्दै उनले वीरगञ्ज महानगरका धेरै वडाहरूमा विकराल रूपमा देखिएको पानीको अभाव र जनजीवनमा परेको प्रत्यक्ष असरको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सांसद पटेलको अभिव्यक्तिले यो समस्याको दीर्घकालीन असर र राज्यको बेवास्तालाई उजागर गर्छ। वीरगञ्ज जस्तो प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रमा पानीको अभाव हुनु केवल व्यवस्थापकीय कमजोरी होइन, यो नागरिक अधिकारको उपेक्षा हो। सांसद पटेलले यसै कारण यो समस्यालाई मौलिक अधिकारको सन्दर्भमा उठाएका छन्।
उनले तत्काल राहत र दीर्घकालीन समाधानको दिशामा अगाडि बढनुको बिकल्प नभएको बताएका छन। आजको दिनमा डिप बोरिङ जडान, ट्यांकरबाट आपूर्ति वा अस्थायी व्यवस्थाले काम चलाउन सकिएला, तर मूल समस्या भने पानीका स्रोत, पाइपलाइन संरचना, नगरजनसंख्याको अनुपातमा वितरण प्रणाली र अनुगमन प्रणालीको कमजोरीमा लुकेको छ।
विगत ३ वर्षदेखि गर्मी याममा पानीको चरम संकट देखा पर्दै आएको तथ्यले आफैंमा समस्याको गहिराइलाई देखाउँछ। यस्तो बेला सांसद पटेलले प्रदेश सभामा उठाएको आवाजलाई प्रदेश सरकारले समयमै सम्बोधन गरेन भने जनविश्वासमा गहिरो क्षति पुग्ने निश्चित छ।
सांसद पटेलले यस विषयमा सरकारको जवाफ माग गर्दै समस्या समाधानका लागि ठोस कदम चाल्न दबाब दिएका छन्। वीरगन्जमा खानेपानीको समस्या विगत लामो समयदेखि रहँदै आएको छ।
तपाईको प्रतिक्रिया