छठ पर्वको तेस्रो तथा प्रमुख दिन आज साँझ अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सन्ध्या अर्घ्य दिनेछन । मध्यतराईका शहर र ग्रामिण भेगमा रहेको इनार, पोखरी, नदीसहितका जलाशयको घाटमा शुक्रवार साँझ अस्ताउदो सूर्यलाई एकसाथ अर्घ्य दिइने छ ।
लोकआस्थाको पर्वको रुपमा परिचित रहेको यसपर्वमा कोरोना कहरका कारण घाटहरुमा सजावट भने कम छ । यस पटक घरमा सानो जलकुण्ड बनाएर सावधानी अपनाउदै पूजा आराधाना गरिदै छ । कतिपय ठाउँका घाटमा बत्ती, टेन्ट, पण्डालको समेत व्यवस्था गरिएको छ । घाटमा कतिपय ब्रतालु भक्तजन बस्ने परम्परा पनि रहेको छ ।
छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा अनुसार अर्घ्य दिइन्छ । तराईमा यस विधिलाई साँझको अर्घ्य अर्थात ‘सझिया घाट’ भनिन्छ ।
पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘बिहनिया घाट’ भनिन्छ ।
अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभुति राख्न छठ पर्वले अभिप्रेरित गर्छ । भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ ।
को हुन छठी माता ?
त्यस्तै छठको अन्तिम दिन अर्थात भोलि एकाबिहानै उदाउदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको समापन गरिने भएको छ । छठ पर्वको आफनो एतिहासिक महत्व रहेको छ ।
छठ पर्वको महत्व रामायण महाभारतकालीन समयसंग पनि जोडिएको छ । छठी माताको ब्रत गरिने पर्वमा धेरै जसो सूर्यको उपासनासंगका महत्वहरुका बारेमा उल्लेख भएको पाइन्छ ।
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ ।
चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । तर वास्तवमा छठीमाता को हुन भन्ने कुराको चर्चा कमै हुने गरेको छ । देवी भागवत पुराणका अनुसार भगवान ब्रह्माकी मानषपुत्री बालदा षठीलाई छठी माताको रुपमा पूजा अर्चना गरिन्छ ।
राजा प्रियर्वतकी धर्म पत्नी रानी मालीनीको १२ वर्ष सम्म गर्भमा रहेको बच्चा सकुशल नजन्मेको र त्यसैको पीडमा श्मसानमा राजा प्रियर्वतले काखमा छोरो राखेर बिलाप गरका बेला बालदा षठी, (छठीमाता) प्रकट भई छठी माताको पूजा गर्ने र गराउने बचन लिएर मृत छोरालाई त्यतीनै बेला जीवीत बनाएको र त्यही बेलादेख छठी माताको पूजा आराधाना हुदै आएको देवी भागवत पुराणमा समेत उल्लेख छ । त्यसैले सन्तानको सुख र रक्षाकोलागि छठी माताको पूजा आराधाना हुने गरेको छ ।
छठको पहिलो दिन(कार्तिक शुक्ल चतुदर्शी )
नहान खान (नहाए खाए)
कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् ।
बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन् म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
छठको दोस्रो दिन(कार्तिक शुक्ल पञ्चमी)
खर्ना
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।
छठको तेस्रो दिन(कार्तिक शुक्ल षष्ठी)
छठ
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ ।
छठको चौथो दिन(कार्तिक शुक्ल सप्तमी)
पारण
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन्
तपाईको प्रतिक्रिया