स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि शुल्क उपचार हुने व्यवस्था गरेको छ।
मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।
मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।
यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले नि शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाइ छ।
‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा नि शुल्क उपचार हुन्छ,’ डा अधिकारीले भन्नु भयो , ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ।’
निशुल्क भित्र के के पर्छ ?
१.सामान्य रगत परीक्षण (जस्तै सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी)
२. छातीको एक्सरे
३. उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि
४. बिरामीको शय्या शुल्क
५. खाजा तथा खाना सहित चार छाक
६. चिकित्सक तथा नर्सको राउन्ड सेवा
७.अक्सिजन
तर, यी सेवा निशुल्क छैन
१. आइसीयू बाहेकका बिरामीमा पिसिआर
२. रेम्डिसिभिर
३. प्लाज्मा थेरापी
४. सिटी स्क्यान
५.हायर एन्टिबायोटिक्स
निशुल्क उपचारकोलागि संघ सरकारले देश भरिका ८३ अस्पतालहरुको सूची जारी गरेको छ । प्रदेश २ मा जनकपुरको जानकी मेडिकल कलेज बीरजंजको नेशनल मेडिकल कलेज र बीरगंज महानगरपालिकाले संचालन गरेको अस्थायी कोभिड अस्पतालको सूची निशुल्क उपचार गर्ने अस्पतालको सूचीमा परेको छ ।
दुईवटा मेडिकल कलेजको ब्यवस्थापन संघ सरकारले गरेको हो भने बीरगंजको अस्थायी अस्पतालको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गरेको हो ।
यद्धपी खर्च भने संघ सरकारले ब्यहोर्ने स्वासथ्य मंत्रालयले जनाएको छ । प्रदेश २ मा प्रदेश सरकारले अन्य कुनै अस्पतालको ब्यवस्थापन गरेको छैन । प्रदेश १ सरकारले समेत सरकारी अस्पताल बाहेक अन्य १ अस्पतालको ब्यवस्थापन गरेको छ ।
गण्डकी प्रदेश सरकारले ३१ वटा अस्पतालमा निशुल्क उपचारको ब्यवस्थापन गरेको छ । बाग्मती प्रदेश सरकारले १४ वटा अस्पतालमा कोभिडका बिरामीको निशुल्क उपचारको ब्यवस्था मिलाएको छ । सुदुरपश्चिम सरकारले ११ वटा अस्पतालमा यो सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।
तपाईको प्रतिक्रिया