चितवन । सौराहा घुम्न गएकी १८ वर्षीया युवतीको होटलको छतबाट खसेर मृत्यु भएको छ। घटना रत्ननगर नगरपालिका–६ स्थित होटल पार्क साइटको चौथो तलामा बुधबार राति घटेको हो।
प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी स्नेहा पाख्रिन बुधबार राति करिब ११.१० बजे होटलको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन्।
उनलाई तत्काल उपचारका लागि बकुलहर अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना दुर्घटनाजन्य देखिएको भए पनि, वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ।
सौराहा भ्रमणमा गएकी किशोरीको मृत्युले पर्यटकमा त्रास र शोकको वातावरण सिर्जना भएको छ। यस घटनाले पर्यटक क्षेत्र सौराहामा सुरक्षासम्बन्धी सतर्कता अझै आवश्यक रहेको संकेत गरेको छ।
तपाईको प्रतिक्रिया