जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपा नेपालका सांसदहरुले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२ औं बैठकमा सभामुख मण्डलले छानविन समिति गठन गर्ने घोषणा गरेपनि त्यसको कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए ।
उनले संसदीय छानविन समिति गठन नभएसम्म बैठक अवरुद्ध गरिरहने बताए ।
सभामुख मण्डलले आज करिब ३ घण्टा यो विषयमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेको भन्दै औपचारिक र अनौपचारिक रुपमा बैठक बस्नेगरी यो विषयमा टुंगो लगाउन आजको बैठक स्थगन गरेको बताए । उनले प्रदेश सभाको बैठक भोली जेष्ठ २२ गते दिनको १ बजे बस्नेगरी स्थगित गरे ।
त्यसैगरि प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित भएको हो।
आज दिउसो १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासका लागि सवा तीन बजेसम्मका लागि सारिएको थियो।
तर, सत्तापक्ष र प्रतिपक्षबीच कुनै सहमति जुट्न नसकेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको सूचना जारी गरेको छ। यसअघि मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईसहितका कर्मचारीहरूमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया