रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा कञ्चनपुर युथ क्लबले मनवा युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

गादी माई युवा क्लब भाथा र चाफीको संयुक्त आयोजनामा तथा पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ र २ को आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताको उद्घाटन पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ का अध्यक्ष फरमान मिया अन्सारी र वडा नं. २ का अध्यक्ष विजय गैरेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
आयोजक संस्थाका अध्यक्ष आबेद अन्सारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पूर्वप्रधानाध्यापक एवं समाजसेवी महेन्द्र चौधरी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव, शिक्षक मोतिलाल चौधरी, नेपाली कांग्रेसका नेता सुलमान मिया दर्जी, इजाहार मिया, सतार मिया, हदिस मिया, समाजसेवी केसर बहादुर आले समशुल मिया तथा प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सुरेश साहलगायतको उपस्थिति थियो।
प्रतियोगिताको पहिलो खेलमा पटेर्वा सुगौली गाउँपालिका–१ को कञ्चनपुर युथ क्लब र पर्सागढी नगरपालिका–१ को मनवा युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो।
खेलमा कञ्चनपुर युथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्यो भने मनवा युवा क्लबले १ गोलमा चित्त बुझायो। जितसँगै कञ्चनपुर युथ क्लबले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

उद्घाटन समारोहमा वडा नं. १ का अध्यक्ष फरमान मिया अन्सारीले चाडपर्वको अवसरमा आयोजना गरिने यस्ता प्रतियोगिताले स्थानीय युवालाई एकताबद्ध गर्नुका साथै गाउँघरमा लुकेर रहेका खेल प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए।
खेलकुदले स्वास्थ्य, अनुशासन र आपसी भाइचारा प्रवर्द्धन गर्ने उल्लेख गर्दै उनले युवा तथा खेलकुद क्षेत्रको विकासमा स्थानीय तहको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
त्यस्तै, वडा नं. २ का अध्यक्ष विजय गैरेले खेलकुदले युवालाई दुर्व्यसन तथा खराब लतबाट टाढा राख्दै अनुशासित र जिम्मेवार नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
दशैँ, तिहार तथा छठको अवसरमा आयोजित प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदप्रतिको उत्साह बढाउने विश्वास व्यक्त गर्दै उनले यस्ता गतिविधिलाई वडा कार्यालयको तर्फबाट निरन्तर प्रोत्साहन र सहयोग रहने बताए।
आयोजकका अनुसार प्रतियोगिताले चाडपर्वको उल्लाससँगै स्थानीय युवाबीच आपसी सद्भाव, खेल भावना र भाइचाराको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया