वीरगञ्ज । विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धिसँगै खेलकुद प्रतिभालाई उजागर गर्ने लक्ष्यसहित वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘अक्षरारम्भ कप २०८३’ सुरु भएको छ।
बिहीबार टीबी शाह क्रिकेट मैदानमा आयोजित समारोहबीच वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख सिंहले विद्यालय शिक्षालाई पाठ्यपुस्तकमा मात्रै सीमित नराखी खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई समेत उत्तिकै महत्त्व दिनुपर्ने बताए।
उनले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पुर्याउने उल्लेख गर्दै खेलमैदानको संरक्षण र व्यवस्थापनमा सबैको सक्रियता आवश्यक रहेको धारणा राखे।
खेलमैदानलाई सामूहिक सम्पत्तिका रूपमा व्याख्या गर्दै सिंहले यसको संरक्षण प्रतियोगिता सञ्चालन भइरहेका बेला मात्रै नभई नियमित रूपमा गर्नुपर्नेमा जोड दिए।
स्थानीय नागरिक, अगुवा तथा सम्बन्धित निकायबीच सहकार्य भए खेलकुद पूर्वाधारको दिगो संरक्षण गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले टीबी शाह क्रिकेट मैदानलाई व्यवस्थित बनाउन महानगर प्रमुख सिंहले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताए। उनले मैदानको संरक्षण र रेखदेखका लागि आफूहरू निरन्तर सक्रिय रहेको पनि जानकारी दिए।
सनलाइट सेकेन्डरी स्कुल, विद्यासदन सेकेन्डरी स्कुल र न्यु वेभ एकेडेमीको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो। उद्घाटन समारोहमा विद्यासदन माध्यमिक विद्यालयका प्रिन्सिपल लालबहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए भने न्यु वेभ माध्यमिक विद्यालयका प्रिन्सिपल सुवास प्रधानले कार्यक्रमको अध्यक्षता गरेका थिए।
प्रतियोगितामा १६ विद्यालयका विद्यार्थी खेलाडी सहभागी छन्। सहभागी विद्यालयमा डीपीएस, पिस जोन, लिटिल फ्लावर, कादम्बरी एकेडेमी, सनलाइट, जीएचपी, ज्ञानोदय, जीवन ज्योति, ओम नेसनल, लिटिल एन्जल्स, न्यु वेभ, सूर्योदय, माउन्ट मकालु र मनकामना सेकेन्डरी स्कुललगायत रहेका छन्।
उद्घाटन समारोहमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष तथा मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान, प्याब्सन मधेश प्रदेशका सल्लाहकार लालबाबु पटेल, मनि पाख्रिन, प्याब्सन महानगर सचिव तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोक, सञ्चालक संगीता प्रधान, कादम्बरी स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्य, एनप्याब्सन महानगर अध्यक्ष तथा सगरमाथा एकेडेमीका प्रिन्सिपल जियालाल गुप्ता र जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्तालगायतको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। पत्रकार उज्ज्वल घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए।
तपाईको प्रतिक्रिया