काठमाडौं। समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
महासंघले प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै प्रहरीले पत्रकारहरूलाई कार्यालयबाटै पक्राउ गरेको भन्दै घटनाको कडा भर्त्सना गरेको हो।
महासंघका अनुसार नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजका शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई पनि कार्यालयबाटै पक्राउ गर्ने प्रयास गरिएको महासंघले जनाएको छ।
मैनालीलाई पक्राउ गर्न पुगेको प्रहरी साँझ ५ बजेदेखि ७ बजेसम्म कार्यालयमै बसेको थियो।
तर, महासंघका महासचिव रामप्रसाद दाहालसहितको दबाबपछि प्रहरी पछि हटेको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ गरिएका पत्रकारहरूलाई पनि शुक्रबार साँझ नै रिहा गरिएको महासंघले जनाएको छ।
यसैगरी, दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मालाई समेत पक्राउ गर्न प्रहरीले निगरानी गरिरहेको जानकारी प्राप्त भएको महासंघले जनाएको छ।
समाचारको विषयमा कुनै समस्या वा असहमति भए प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा त्यसो नगरी पत्रकारमाथि धरपकड गर्नु राज्य आतंक सिर्जना गर्ने कार्य भएको महासंघको ठहर छ।
महासंघले प्रहरीको यस्तो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान र प्रचलित कानुनविपरीत रहेको जनाएको छ।
साथै, प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा प्रहरीले स्वेच्छाचारी व्यवहार देखाएको भन्दै महासंघले कडा भर्त्सना गरेको छ।
महासंघले सम्पूर्ण पत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्यको यस्तो कदमविरुद्ध खबरदारी गर्न आह्वान गरेको छ।
साथै, पत्रकारमाथिको धरपकड नरोकिए सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारलाई निर्बाध रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
तपाईको प्रतिक्रिया