वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले प्रस्तावित यातायात सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पार्न समिति गठन गरेको हो।
महानगरपालिकाको राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा गठित समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादवसहित सम्बन्धित पालिकाका प्रतिनिधि सदस्य रहेका छन्।
समितिले सार्वजनिक यातायातका सम्भावित रुट, सवारी साधनको व्यवस्थापन, सञ्चालन प्रक्रिया र आवश्यक स्रोतसाधनबारे अध्ययन गर्नेछ।
यसका साथै इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, नियमित सर्भिसिङ, मर्मतसम्भार र सञ्चालन खर्च पालिकाहरूबीच बाँडफाँट गर्ने विषयमा पनि प्रतिवेदन तयार पारिनेछ।
बैठकमा प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकासँग समन्वय गरी आगामी बैठकमा सहभागी गराउने विषयमा समेत छलफल भएको छ।
प्रस्तावित यातायात सेवा सञ्चालनमा आए मुख्य सडकबाट टाढा रहेका बस्तीका नागरिकलाई बजार, अस्पताल, विद्यालय तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।
सार्वजनिक यातायातको पहुँच विस्तार हुँदा निजी सवारीमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटक–पटक सवारी फेर्नुपर्ने बाध्यता पनि घट्ने विश्वास गरिएको छ।
बैठकमा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीलगायत सहभागी थिए।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा र सूचना अधिकृत किर्तिराज सुवेदीको पनि उपस्थिति थियो।
समितिको अध्ययन प्रतिवेदनपछि यातायात सेवाको रुट, सञ्चालन ढाँचा र खर्च व्यवस्थापनबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया