नेपालगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचित सांसद खगेन्द्र सुनारलाई ‘राइट टु रिकल’ अर्थात् फिर्ता बोलाउने अधिकार प्रयोग गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।
सांसद सुनारको कार्यशैली, विवादित अभिव्यक्ति र निर्वाचन क्षेत्रप्रतिको बेवास्तालाई लिएर पार्टीभित्रै असन्तुष्टि चुलिएको हो।
रास्वपाको केन्द्रीय विधायन मन्थन विभागका सदस्य तथा बाँके क्षेत्र नम्बर ३ का विक्रम ओलीले सांसद सुनारमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै पार्टी नेतृत्वसमक्ष लिखित उजुरी दिएका छन्।
संसदीय दलका नेतालाई सम्बोधन गरी लेखिएको उक्त पत्र सचेतक क्रान्ति शिखा धितालको सचिवालयमा दर्ता गराइएको बताइएको छ।
उजुरीमा सांसद सुनार निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त सक्रियता नदेखाएको, स्थानीय जनताका समस्या र गुनासाप्रति चासो नदिएको तथा जनतासँगको सम्पर्क कमजोर बनाएको आरोप लगाइएको छ।
त्यस्तै, उनका केही अभिव्यक्तिले पार्टीको छवि र सामाजिक सद्भावमा असर पारेको दाबी पनि गरिएको छ।
पत्रमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई लक्षित गरी सांसद सुनारले निरन्तर आलोचनात्मक अभिव्यक्ति दिएको, राष्ट्रसेवक कर्मचारीको मनोबलमा असर पुग्ने गतिविधि गरेको तथा राजदूत नियुक्तिमा कमिसन लिएको जस्ता गम्भीर आरोपसमेत उल्लेख गरिएको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको विवरण प्राप्त भएको छैन।
सांसद सुनारले जनताको फोनसमेत नउठाउने र निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै उजुरीकर्ताले पार्टी नेतृत्वसँग निष्पक्ष छानबिनको माग गरेका छन्।
पार्टीले उजुरीमाथि समयमै सुनुवाइ नगरे आगामी निर्वाचनमा राजनीतिक क्षति बेहोर्नुपर्ने चेतावनीसमेत पत्रमार्फत दिइएको छ। उजुरीकर्ताले सांसदको कार्यसम्पादन र जनताप्रतिको जवाफदेहिताको समीक्षा गर्दै ‘राइट टु रिकल’ को व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन्।
सांसद सुनारमाथि लगाइएका आरोपबारे उनको प्रतिक्रिया तथा पार्टी नेतृत्वले उजुरीमाथि लिने निर्णयबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
तपाईको प्रतिक्रिया