प्रभाकर गुप्ता
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट कुनै पनि देश अछुतो रहेन । चिनको हुवान सहरबाट फैलिएको कोरोना भाईरसबाट हाम्रो सुन्दर देश नेपाल पनि बाकी रहेन ।
नेपालमा पनि दिन प्रतिदिन कोरोना भाईरसको लक्षण देखिन थाल्यो । यसको रोकथामको एउटै उपाय थियो लकडाउन जुन कि नेपाल सरकारले चैत्र ११ देखी जारी गर्याे । एउटा सभ्य र ईमान्दार नागरीकको हैसियतले घरमै बसी लकडाउनको पालना गरे ।
पुरै लकडाउन अवधीभर अतिआवश्यक काम बाहेक बाहिर निस्किन । साउन १० गते काम विशेषले हामी ५ जना साथी भाई काठमाडौ सतर्कताका साथ गयौ । ५ दिनपछि काठमांडौबाट फर्किने बेला २१ घण्टाको लामो जाम र पानीलाई छिछिल्दै १६ गते घर आईपुग्यौ ।
अलिकती थकान र जिउ दुख्ने महशुष भयो । तर, केही दिनमा निको पनि भयो । तर, साउन २९ मा मपनि कोरोनाको चपेटामा परे । १२ दिनको होम आइसोलेशन पश्चात सोमबार राति मेरो पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।
आखिर म कसरी भए संक्रमित ?
पार्टीको एकजना जिम्मेवार नेतालाई कोरोना संग मिल्दो जुल्दो लक्षण देखा पर्न साथ उहाँ अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भई उपचार गराउने भयो । उहाँले त्यती नै बेला आफनो पिसीआर परिक्षणकालागि स्वाब दिनु भयो ।
पि.सि.आर. रिपोर्ट नेगेटीभ आयो र उहाँलाई वीरगंजको एउटा अस्पतालमा सिफ्ट गरियो । साउन २१ गते उहाँको स्वास्थ्यमा समस्या आएपछि हामी साथी भाई भेट्न गयौ । दाईको खोकी पनी लागातार आईरहने हामी तेही कोठामा बसी गफि रहयौ र अलिकती मैले दाईको मोबाईल पनि चलाएको थिए ।
लगतै तल गएर पानी खाए । दाईलाई हेलिकप्टरबाट थप उपचारको लागि काडमांडौ पठायौ र घर आएपछी तातो पानी र डिटोल साबुनले नुहाए । त्यो रात म छोरी संग सुते । भोली पल्ट दाईको पि.सि.आर. रिपोर्ट पोजेटीभ आएको खबर सुन्नसाथ म बाट परिवार र टोल छिमेकमा संक्रमण नफैलियोस भनेर घर परिवारबाट टाढा हामी सात जना क्वारेन्टिनमा गयौ ।
सबैसंगै लुडो खेलेर दिन काटियो । क्वारेन्टाइनको पाचौ दिन २६ गते स्वाब दियौ । ३ दिन पछि नारायणी अस्पतालका मे.सु. डा.मदन उपाध्यायले प्रभाकर जी तपाई लागायत ३ जना साथीको पि.सि.आर. रिपोर्ट पोजेटीभ आएको छ भन्ने जानकारी दिनु भयो । राती ११ बजे सूचना आए पछि संगै बसेका साथी भाईहरुमा तनाव भयो र त्यो रात देखी हामी छुटा छुटै बस्न थाल्यो ।
आइसोलेसनमा पहिलो दिन
बिभिन्न संचार माध्यमबाट र समाजिक संजालमा खबर प्रकाशित हुनसाथ मेरो आफन्त साथी भाई तथा मेरो शुभचिन्तकहरु लगायत पार्टीका नेतागण र मेरो संगठनका पुर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सबैजनाले फोनको माध्यमबाट स्वास्थ्य स्थिति बुझ्नुका साथै स्वास्थ्य लाभको कामना समेत गर्नु भयोे ।
सात दिनको सेल्फ क्वारेन्टाईनको बसाई पछि, घरमै आइसोलेट भएर बसे । आफन्त र छिमेककाहरु टाढैबाट भेटर सहानुभुतीका साथै चाडै निको हुने शुभकामना दिनु हुन्थ्यो । दैनिकी करिब २०० देखी २५० सम्म फोन आउन थाल्यो । केही साथीहरुले सामाजिक सञ्जालको माध्यमबाट स्वास्थ्य लाभको कामना गरे । साथी भाईहरुको ठुलो माया, प्रेम र सदभावले मेरो मनमा उर्जा थपिएकै थियो । छिटै निको हुने विश्वास पैदा भयो ।
घरमा परिवारसंग करिब ५० मिटरको दूरि कायम हुने गरि म आइसेलेट भएको थिए । श्रीमतीजीले गेटमा खाना राखि दिन्थिन् । अनुहार मलिनो बनाउदै केही हुदैन बाबा चाडै निको हुनुहुनेछ भन्दै ढाड्स दिन्थिन् । त्यसबेला मैले सम्झे शोषक वर्गले दलित वर्गमाथि कति अत्याचार गरेका छन् । उनीहरुलाई कति पीडा हुदो होला जब उनीहरुले छोएको पानी पनि कथित उच्च जातिले खादैनन् ।
यसैगरि समाजमा रहेको रुढीवादी चिन्तनले राजस्वला हुने महिलालाई अछुत झै व्यवहार गर्छन् । कतिपय ठाउमा छाउगोठ नै निर्माण गरिएका छन् । महिलाको प्राकृत्तिक बनावटकै आधारमा हुने शारिरीक परिवर्तनले रुढीवादी चिन्तन र सोचले कति विभेद गरेको छ ।
खानपिन र व्ययाम
साथीभाईहरुको सल्लाहमा शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मैले हर एक प्रयास गरे । दैनिक टाईम टेबल बनाए । त्यस अनुरुप नै मैलै आफ्नो दैनिकी चलाए । चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरुको सल्लाहमा खान पिन र औषधी सेवन गरि रहे ।
दैनिक जिवनमा परिवर्तन
यसअघि प्राय ७–८ बजे उठने मान्छे ५ बजे उठी नित्यकर्म गरी आफ्नो कोठामा कुचो लगाउने देखी लिएर सरसफाई गर्ने बानी बसाले ।
६ः०० बजे हल्का व्यायम गरेर बेसार र तातो पानी खाने, त्यस पछी हल्का खाजा खाने र भिटामिन ट्याब्लेट । नुहाई धोवाई गरिसकेपछी आफुले लगाएको कपडा धोई कोठामै सुकाउथे । खाना पत्तामा राखेर खान्थे । खाई सकेपछि पता कोठामै जलाई दिन्थे ।
त्यस पछि फेरी औषधी खानु र हल्का आराम गरी केही पढ्ने र लेख्ने बानी बसाले । दिउसोको खाजा खाई सकेपछी हल्का फेरी आराम गर्ने र रातीको खाना खाएर १०ः०० बजे सम्म सुत्थे । यसरी नै मेरो १४ दिन होम आईसोलेशन बिताए ।
संक्रमितलाई हौसला प्रदान
म कोरोना संक्रमित भईसकेपछी विभिन्न संक्रमित साथीभाईहरु म संग जोडिने प्रयास गर्नु भयो । आफनो पीडा र भोगाई म संग साटा साट गनुृ भयो ।
त्यति खेर मैले एउटा प्रण पनि गरे कि मैले हार मान्नु हुदैन् । र म जस्तै संक्रमित भएकाहरुको मनोबल बढाउने प्रयास गर्छु । त्यसका लागि मैले सामाजिक सञ्जालको सहयोग लिएर जनचेतना फैलाउने काम गरे ।
अनुभव साटा साट गर्ने क्रममा कतिपय संक्रमित कोरोनाको डर र त्रासले आधा गलेका थिए । मनमा डर पैदा भएको थियो । समाजमा पनि संक्रमित र परिवारलाई हेला गर्ने गरिएको छ ।
आर्थिक क्षेत्रमा परेका प्रभाव ः
नोवेल कोरोनाले जसरी विश्वब्यापी रुपमा आफनो पकड जमाउन सफल भएको छ । ठिक त्यसको विपरित अर्थतन्त्रमा ठुलो गिरावट तथा मन्दी छाएको छ । सबै उधोग कलकारखाना बन्द परेको छ उत्पादन ठप्प छ । आयात निर्यात बन्द परेको छ । त्यसकारण अर्थतन्त्रको समस्या सानो मुलुकलाई भएको छ । तर कोरोनाले ब्यापार ब्यवसायमा एउटा सकारात्मक पक्षमा सिकाएको छ । उधारो को कारोबार टोटली बन्द गरी नगदको ब्यापार गर्न सिकाएको छ ।
अन्तमा
म संक्रमणबाट मुक्त भइसकेपछी समाजमा परेको यसको नाकारात्मक पक्षलाई सचेतनाको माध्यमबाट होस या स्थानीय प्रहरी प्रशासन र वडा संग सहकार्य गरी ति तमाम संक्रमित आमा,बुवाको घाउमा मलहम लगाउने अभियानमा जुटने छु ।
– लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।
तपाईको प्रतिक्रिया