वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको यो आक्रमणलाई गम्भीर प्रहारका रूपमा व्याख्या गर्दै तत्काल निष्पक्ष छानबिनको माग गरेको छ।
त्यसैगरि प्रेस चौतारीका महासचिव हीरामान लामाले पनि एक जारी गर्दै गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइ घरमा आक्रमण गर्न आह्वान भइरहेको थियो। गएराति भएको घटनाले यो आक्रमण पूर्वनियोजित र षड्यन्त्रपूर्ण भएको स्पष्ट प्रमाणित भएको छ।
ढुंगा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसा फुटेका छन्। विशेषगरी पाण्डेकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ।
संस्थाले अभिव्यक्ति स्वतन्त्रता र कलमजीवी पत्रकारहरूलाई धम्क्याउने वा दबाउने कुनै पनि प्रयास असफल हुने चेतावनी दिंदै घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र पहिचान गरी कानूनी कारबाहीमा ल्याउन सुरक्षा निकाय र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ।


तपाईको प्रतिक्रिया