logo

विभेदको खाडल

      3/31/2018 गते 00 00 मा प्रकाशित     2003   पटक पढिएको

धनी झन् धनी बन्दै छन् भने गरिब झन् गरिब । प्रदेश २ मा गहिरिँदो विभेदको यो खाडल चाँडो पुर्न नसके हिजो अधिकारका लागि सडकमा ओलिएका मधेसवासी भोलि धनी र गरिबबीचको वर्गसंघर्षमा ओर्लने समाजशास्त्री औंल्याउँछन् 

भूषण यादव

वीरगन्ज — पर्साको बहोदरमाई नगरपालिकाको नगरदाहा–३ निवासी वैजनाथ यादवको आँगनमा तेस्रो पुस्ता हुर्किसकेको छ, तर परिवारमा अहिलेसम्म कसैले पनि प्राथमिक शिक्षासमेत पाएका छैनन् ।

पर्साको लहावरथकरी ६ खेस्राहास्थित दलित बस्ती । तस्बिर : भूषण

दुई छोरामध्ये एक दिल्लीमा सिलाइकटाइको काम गर्छन्, अर्को वीरगन्जको एक उद्योगमा कार्यरत छन् । सम्पत्तिका नाममा ५ धुरमा बनेको घर र १० कट्ठा खेत छ, जसको खेतीले वर्षदिन खान पुग्दैन । 
‘छोराहरूको कमाइमै निर्भर छौँ,’ उनले भने, ‘खेतीले गुजारा हुन छाड्यो ।’ हातगोडा बलियो हुँदा वैजनाथले आफैं गृहस्थी सम्हाले, बच्चा हुर्काए । बच्चाहरू पनि सानैदेखि बा–आमालाई खेतीमा सघाउँथे । अहिले दुवै छोराले रोजगारी पाए पनि यो परिवारले हालसम्म कुनै सम्पत्ति जोड्न सकेको छैन ।
यो एउटा प्रतिनिधि कथा हो । पकाहामैनपुर लहावरथकरीको खेस्राहाका मुसहर समुदायका ६० परिवारको जीवनस्तर वर्षौंदेखि उस्तै छ । ‘काम पायो भने ठीक, नत्र दिनभर आराम,’ अमरुद्ध माझी भन्छन्, ‘सधैँ नयाँ काम खोज्नुपर्छ, हाम्रो आफ्नो एक धुर पनि खेत छैन् ।’ खेस्राहाका कसैको पनि लालपुर्जा छैन् ।

सुकुम्बासी समस्या समाधान समितिमा दुई पटक निवेदन दिए पनि सुनुवाइ भएको छैन । समितिले २०६८ मै फारम दर्ता गरी दिएको चलानी रसिद उनीहरूले जतन गरी बाकसमा राखेका छन् । अधिकांशको एक कोठे भवन छ । प्रत्येक परिवारमा कम्तीमा ३ देखि ११ जनासम्म बालबच्चा छन् । ‘परिवार पालनपोषणमा धेरै समस्या छ,’ सुरेशले भने, ‘छोराछोरीलाई एक जोर कपडा पनि हाल्न सकिएको छैन ।’

टोलनजिकैको पक्की भवनमा स्वास्थ्य चौकी छ । तर, त्यसको ताल्चा १२ नबजी खुल्दैन । उपचारका लागि स्थानीय सीमावर्ती भारतीको कंगली बजार जान बाध्य छन् । अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव छ । सरकारले स्वास्थ्य र शिक्षामा वार्षिक करोडौं रुपैयाँ खर्चे पनि लक्षित वर्ग लाभान्वित नभएको पोखरियाका सामाजिक परिचालक धर्मेन्द्र चौरसिया बताउँछन् । ‘जनताले पाउनुपर्ने आधारभूत सेवा नपाउँदा राज्यप्रति आक्रोश बढदो छ,’ उनले भने, ‘बेलाबेला विभिन्न आन्दोलनका नाममा यो विस्फोट हुने गरेको छ ।’

गत माघ २१ मा प्रदेश २ को पहिलो प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने अधिकांश सांसदले प्रदेशलाई आर्थिक रूपमा सबल र सक्षम बनाउने उद्घोष गरे । सबै नेताले आर्थिक मुद्दालाई बढी प्राथमिकतामा राखे । उनीहरूले मधेसको मूल समस्या निक्र्याेल गरे– कुशासन, अनियमितता र ढिलासुस्ती । प्रदेश २ का आठवटै जिल्ला समथर र सुगम भएर पनि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीको मामिलामा पछि परेका छन् । राष्ट्रिय आयोजना आयोगले गत पुस ५ मा सार्वजनिक गरेको नेपाल बहुआयामिक गरिबी सूचकांक २०७४ अनुसार प्रदेश २ को ५० प्रतिशत जनसंख्या अझै गरिब छ । उक्त सूचकांकले राष्ट्रिय रूपमा भने २८ दशमलव ६ प्रतिशत नेपालीलाई बहुआयामिक रूपमा गरिब देखाएको छ । प्रतिव्यक्ति वार्षिक आय, साक्षरता दर, मानव विकास सूचकांकमा पनि प्रदेश २ को अवस्था दयनीय नै देखिन्छ । धनी झन् धनी, गरिब झन् गरिब हुँदै गएका छन् ।

मानव विकास सूचकांकतर्फ राष्ट्रिय औसत शून्य दशमलव ४९० को तुलनामा प्रदेश २ का ८ जिल्लामध्ये पर्सा सबैभन्दा बढी (०.४६४) र रौतहट सबैभन्दा कम (०.३८६) छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यो प्रदेश अन्य प्रदेशको तुलनामा पछाडि नै छ । समतल भूभाग मात्रैले विकास सहज हुँदो रहेनछ भन्ने उदाहरण हुन्, मधेसका विपन्न बस्ती । शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारलगायत अत्यावश्यक सेवाको अवस्था पहाडी दुर्गम जिल्लामा जस्तै दयनीय छ यहाँ । कतिपय ठाउँ त पहाडी जिल्लाका भन्दा दयनीय छन् । गरिबी, अशिक्षा र चेतना अभावमा मध्यमधेसका जिल्ला निकैपछि परेको जानकार बताउँछन् । जनता सुविधा र सेवा माग गर्नसमेत सक्दैनन् ।

अधिकांश बासिन्दा कृषिमा आश्रित छन् । कृषिको व्यवसायीकरणको सट्टा प्रजातन्त्र पुन:स्थापनायता राज्यले कृषिमा लगानीसमेत घटाउँदै लगेको छ । किसानको उब्जनीमा बिचौलिया र व्यापारीले फाइदा लिइरहेका छन् । समाजशास्त्री वीरेन्द्रप्रसाद साहका अनुसार पुँजीवादी अर्थतन्त्रको सिद्धान्त नै सस्तोमा लिने र महँगोमा बिक्री गर्ने हो । जोसँग पुँजी हुन्छ उही कमाउँछ । जोसँग पुजी छैन, साधन र स्रोत छैन, ऊ गरिब नै रहन्छ । ‘गरिब किसानको हितमा सरकारले नीति ल्याउन सकेको छैन,’ जनकपुरका अर्थशास्त्री डा. सुरेन्द्र लाभ भन्छन्, ‘मुलुकको अर्थतन्त्र बेलगाम घोडाजस्तै भएको छ । सरकारको पकड बाहिर छ ।’ उनका अनुसार अहिलेको बजार व्यवस्थाले धनी र गरिबबीचको खाडल झन् बढाउने काम गरेको छ ।

प्रदेश २ मा पछिल्लो समय अधिकारका लागि जनता सडकमा आए पनि केही वर्षपछि धनी र गरिबबीच संघर्ष बढ्ने उनको आँकलन छ । बाराको फेटा गाउँपालिकाको भरबलिया टोलका अभिभावकले मासिक करिब ४ लाख रुपैयाँ बालबच्चाको पठनपाठनमा खर्चिने गरेका छन् । त्यस टोलमा सरकारी विद्यालय पनि छ । सरकारी विद्यालयमा विद्यार्थी अभाव छ भने नजिकैको बोर्डिङमा बर्सेनि आकर्षण बढदो छ । गाउँमा खुलेको सरकारी स्वास्थ्य चौकीको अवस्था पनि दयनीय छ । समयमा चौकी खुल्दैन, औषधि अभाव सधैंको समस्या भइहाल्यो । भरबलिया निवासी ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापक वीरेन्द्रप्रसाद साहका अनुसार सरकारले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा खर्च गरेको छ । तर, त्यसको उचित निगरानी नहुँदा लगानी खेर गइरहेको छ । जनप्रतिनिधिले पनि कुनै चासो दिएका छैनन् । उनीहरू आफ्नै सुविधा र भत्ता खोज्नै व्यस्त छन् ।

ठूलो क्षेत्रफलमा रहेको उर्वर जमिन यही प्रदेशमा रहेकाले कृषिलाई आधार बनाउन सके प्रदेश २ ले छिट्टै विकासको फडको मार्न सक्छ । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्ग र द्रुतमार्गले पनि यस प्रदेशलाई छुने भएकाले आर्थिक आधार बन्ने सम्भावना प्रशस्त छ ।सभार / कान्तिपुरडेली डटकम

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.