जनकपुरधाम । मधेश प्रदेशको बजेटमा भएको त्रुटि छानबिन गर्न उपसभामुख वविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति गठन भएको छ ।
यस अघि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको थियो । भौतीक पूर्वाधार मन्त्री नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवको नाम सदस्यमा प्रस्तावित भएपछि बिपक्षी दलले बिरोध गरेका कारण समिति अर्को बनेको हो ।
सभामुख रामचन्द्र मण्डलले संयोजक पदबाट राजीनमाको घोषणा गरेपछि उपसभामुखको संयोजकत्वमा १४ सदस्यीय कार्यदल बनेको हो ।
कार्यदलमा सत्ता पक्षबाट नेपाली कांग्रेसका तर्फबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमतका तर्फबाट चन्दन सिंह, सम्भु साह रलोसपाकी रमिता प्रधान छन् ।
यस्तै विपक्षी दलहरुबाट जसपा नेपालबाट रामअशिष यादव, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल, नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी बिमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह रहेकी छन् ।
शनिबार नै पुनः बसेको प्रदेशसभा बैठकमा सभामुख मण्डलले बजेटको त्रुटि छानबिन गर्न १४ सदस्यीय कार्यदल बनेको जानकारी सदनलाई गराएका छन् । योसँगै मधेश प्रदेशसभामा लगातारको विपक्षी दलको अवरोध हटेको छ ।
तपाईको प्रतिक्रिया