काठमाडौं । नेपाल पत्रकार महासंघले रिपब्लिक मिडिया लिमिटेडमा जारी श्रम आन्दोलनको सन्दर्भमा बिहिवार महासंघका पूर्वअध्यक्षहरूसँग परामर्श बैठक सम्पन्न गरेको छ।
छलफलबाट प्राप्त सुझावका आधारमा महासंघले श्रम समस्या समाधान नहुँदासम्म रिपब्लिक मिडिया लिमिटेडले राज्यका निकायबाट प्राप्त गर्ने सेवा–सुविधा स्थगन गर्न सम्बन्धित निकायहरूलाई पत्राचार गरेको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार २०८२ साउन २२ गते नागरिक दैनिकको प्रकाशक संस्था रिपब्लिक मिडिया लिमिटेड र महासंघबीच भएको चारबुँदे सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने निर्णयअनुसार यो कदम चालिएको बताए ।
छलफलमा सहभागी महासंघका पूर्वअध्यक्षहरूले श्रमजीवी पत्रकारहरूको हकहित सुनिश्चित गर्न महासंघले दृढ र स्पष्ट अडान लिनुपर्ने सुझाव दिएका थिए।
उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रम अधिकार अलग–अलग विषय भएको उल्लेख गर्दै श्रम अधिकारको पक्षमा हुने आन्दोलनलाई प्रेस स्वतन्त्रताको हननका रूपमा व्याख्या गर्न नहुने धारणा व्यक्त गरेका थिए।
महासंघकी अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको अधिकार स्थापित नहुन्जेल महासंघको आन्दोलन निरन्तर रहने प्रतिबद्धता दोहोर्याइन ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष तथा श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक दीपक आचार्यले रिपब्लिक मिडियाले महासंघसँग भएको सम्झौता पूर्ण रूपमा कार्यान्वयन नगरेसम्म आन्दोलन स्थगन नहुने स्पष्ट पारे।
छलफल कार्यक्रममा महासंघका उपाध्यक्षहरू नीतु पण्डित र उमिद बागचन्द, सचिव रमेश खतिवडा, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया