वीरगंज । वीरगञ्ज महानगरपालिका–१५ मा नेकपा एमालेले शुक्रवार पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत यसअघि जसपा नेपालको प्रभाव क्षेत्र मानिँदै आएको वडाबाट सयौँ नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका छन्।
जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवसहित विभिन्न तहका अगुवा कार्यकर्ताहरू औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन ।
विशेष समारोहका रूपमा सम्पन्न कार्यक्रममा एमाले पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, सचिव महेश दास, पुरुषोत्तमलाल झा, गगनदेव पटेल तथा उमेशलाल सहनीलगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरूले हाल देखिएको जनसमर्थनले पार्टीप्रति जनताको बढ्दो विश्वास झल्काउने बताए। उनीहरूले संगठनलाई अझ मजबुत बनाउँदै आगामी निर्वाचनमा सूर्य चिन्हलाई विजयी गराउने गरी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार कार्यक्रममा स्थानीय तहका कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो, जसले वीरगञ्जमा एमालेको संगठन थप सुदृढ बन्दै गएको संकेत गरेको छ। वडागत रुपमा पार्टी प्रवेशको कार्यक्रम संचालन हुने पर्साका सचिव महेश दासले जानकारी दिए ।
तपाईको प्रतिक्रिया