वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–११ र १३ का वडाध्यक्ष, निर्वाचित सदस्य तथा ठूलो संख्यामा रहेका नेता कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत विभिन्न दल परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन्।
वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार चौरसिया, वडा सदस्यहरू जगनलाला महतो धानुक, गौदमी देवी र वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित सदस्य लाल मोहम्मद मन्सुरी एमालेमा आवद्ध भएका हुन्।
उनीहरूलाई पूर्व मन्त्री तथा पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष चौरसियाले जसपा नेपालले मधेस मुद्दालाई राजनीतिक स्वार्थका लागि मात्र प्रयोग गरेको आरोप लगाए। उनले देश र जनताको समग्र हितका लागि केपी शर्मा ओली नेतृत्वको एमाले नै उपयुक्त विकल्प भएको धारणा राखे।
वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको प्रभावमा देशलाई अस्थिर बनाउने प्रयास भइरहेको दाबी गर्दै राष्ट्रिय स्वाभिमान र जनताको अधिकारको रक्षा गर्न एमाले रोजेको बताए।
पूर्व मन्त्री यादवले आफू राजनीतिक हत्या प्रयासपछि एमालेमा प्रवेश गरेको दाबी गरे। उनले जेन–जी आन्दोलनपछि बढेको विदेशी दबाब रोक्न र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन केपी शर्मा ओलीको नेतृत्व निर्णायक रहेको उल्लेख गरे।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभू हजरा, बिजय कुमार सरावगी पार्टी प्रचार बिभाज प्रमुख सुन्दर कुर्मी प्रयाग महतो मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया