काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव हुँदा पनि सरकारले समस्या समाधान गर्न चासो नदिएको भन्दै आलोचना गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले ग्यासको अभावका कारण सर्वसाधारण समस्यामा परेको बताइन् । उनका अनुसार पसलमा ग्यास भए पनि व्यवसायीले बिक्री नगर्दा उपभोक्ता थप समस्यामा परेका छन् ।
उनले भनिन्, ‘मलाई दिनमा हजारौँ फोन आउँछन् । आशिका दिदी, पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर जनताले गुनासो गरिरहेका छन्।’
सांसद तामाङले सरकारभन्दा बिचौलिया र माफिया शक्तिशाली भएको हो कि भन्दै प्रश्न गरिन् । जनताले दुई तिहाइ मत दिएर सरकारमा पठाए पनि अहिले जनताले ग्यास नपाएर दाउरा खोजेर खाना पकाउनुपर्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ थियो ।
‘के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ? जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आज जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्नुपर्ने हो ?’ उनले प्रश्न गरिन् ।
ग्यासका लागि सर्वसाधारणले लामो लाइन बस्नुपर्ने अवस्था रहे पनि सरकार भने मन्त्री परिवर्तनमै व्यस्त रहेको भन्दै उनले व्यङ्ग्य गरिन् ।
‘महिनैपिच्छे ग्यासकै लागि मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन लामो हुनेछ, सभामुख महोदय,’ उनले भनिन् ।
सांसद तामाङले बजारमा वास्तवमै ग्यासको अभाव भएको हो भने सरकारले स्पष्ट रूपमा घोषणा गरेर जनतालाई वास्तविक अवस्था जानकारी गराउनुपर्ने बताइन् ।
उनले सरकार जनताको समस्या र पिरमर्काप्रति संवेदनशील हुन नसकेको आरोप लगाउँदै ग्यासको आपूर्ति सहज बनाउन तत्काल आवश्यक कदम चाल्न माग गरिन् ।
तपाईको प्रतिक्रिया