ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा शुक्रवार बिहान ठोरी गाउँपालिका–२ स्थित स्केटिङ भवनमा कार्यक्रम सम्पन्न भएको हो।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, प्रहरी उपरीक्षक पवनकुमार भट्टराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी, स्थानीय बुद्धिजीवी, भद्रभलादमी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा नागरिक र प्रहरीबीचको समन्वय, स्थानीय शान्ति सुरक्षा तथा समुदायमा देखिएका समस्याबारे छलफल र अन्तरक्रिया गरिएको थियो।
यस्ता कार्यक्रमले नागरिकका गुनासा र सुझाव प्रहरीसमक्ष पुर्याउन तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नागरिकका समस्या, सुझाव र अपेक्षालाई सम्बोधन गर्दै प्रहरी सेवालाई जनमुखी, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
तपाईको प्रतिक्रिया