वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–५ सबैठवामा गाईभैँसीको भुसा राख्ने गोठमा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बुधबार गोठमा छापा मारेको थियो।
सो क्रममा अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद कपडाको कुल मूल्य १०,५८,५४० रहेको जनाइएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।
सशस्त्र प्रहरीका अनुसार बरामद सामान बेवारिसे अवस्थामा फेला परेको थियो। सामान कसले र कुन प्रयोजनका लागि गोठमा लुकाएर राखेको थियो भन्ने विषयमा भने थप विवरण सार्वजनिक गरिएको छैन।
तपाईको प्रतिक्रिया