काठमाडौं । थाइल्याण्डबाट काठमाडौं आएका एक भारतीय नागरिक लागूऔषध थाई गाँजासहित पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले आइतवार थाई एयरवेजको उडान मार्फत थाइल्याण्डबाट काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेबलाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार पक्राउ परेका उनको साथबाट १ किलो ६ सय ग्राम लागूऔषध थाई गाँजा बरामद गरिएको छ।
प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।
थाइल्याण्डबाट नेपाल आएका यात्रुहरूको आपराधिक प्रोफाइलिङ गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले निगरानी गरी उनलाई पक्राउ गरेको ब्यूरोको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका भारतीय नागरिकमाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
तपाईको प्रतिक्रिया