वीरगञ्ज । यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले वीरगञ्जमा सचेतनामूलक र्याली निकालिएको छ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको तीनदिने अभियानअन्तर्गत र्याली निकालिएको हो।
वीरगञ्जस्थित घण्टाघरबाट सुरु भएको अभियानको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहाल ले गरेका थिए।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगर ले यौनजन्य हिंसामुक्त समाज निर्माणका लागि प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।
उनले मधेश प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना देखिएकाले प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार तीनदिने सचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए।
यस्ता अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट सम्भव नहुने भन्दै नागरिक समाज, संघसंस्था, विद्यार्थी तथा सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
उद्घाटनपछि घण्टाघरबाट निकालिएको र्यालीले वीरगञ्जका विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघरमै पुगेर समापन भएको थियो।
मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुने अभियानमार्फत यौनजन्य हिंसाका घटनाबारे समुदायलाई सचेत गराउने, हिंसा रोकथामका उपायबारे जानकारी दिने तथा पीडितलाई न्यायको पहुँचमा पुर्याउन नागरिक सहभागिता बढाउने लक्ष्य राखिएको छ।
तपाईको प्रतिक्रिया