काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
खाद्य आयात अनुमति तथा सहजीकरणका नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार उनीहरूले विभिन्न बैंक खाता तथा क्यूआरमार्फत २८ लाख २० हजार ३ सय ७५ रुपैयाँ घुस रकम लिएको अनुसन्धानबाट पुष्टि भएको छ।
अधिकारीविरुद्ध उक्त सम्पूर्ण रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गरिएको छ।
अन्य तीन जनालाई मतियारको आरोपमा उनीहरूले लिएको रकमअनुसार बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।
तपाईको प्रतिक्रिया