वीरगञ्ज। सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै भन्सार छलीका सामान पास गराइदिने र रकम नदिए सामान पक्राउ गराइदिने भन्दै रकम असुल्ने आरोपमा पर्साको पोखरिया नगरपालिका–५ का ५१ वर्षीय अशोक कुमार बर्णवाल पक्राउ परेका छन्।
प्रहरीका अनुसार बर्णवालले आफू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सुरक्षाकर्मी भएको तथा दुवै निकायमा आफ्नो राम्रो चिनजान रहेको बताउँदै बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
प्रहरी टोलीले उनलाई कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बर्णवाललाई कानुनबमोजिम म्याद थप गरी अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
तपाईको प्रतिक्रिया