जगरनाथपुर। भारत–नेपाल सीमा क्षेत्रको हनुमान गली नजिकबाट सशस्त्र सीमा बलले १ हजार थान एलडीजेसीक पी ट्याब्लेट बरामद गरेको छ। ट्याब्लेटसहित नेपालका ७५ वर्षीय एक नागरिकलाई नियन्त्रणमा लिइएको छ।
४७औँ बटालियनअन्तर्गत इनर्वा एसएसबी क्याम्पका जवानले नियमित गस्तीका क्रममा ती ट्याब्लेट बरामद गरेका हुन्। पक्राउ पर्नेमा नेपालको पर्सा जिल्ला, बहुवरी गाउँ निवासी कलाम मियाँ रहेका छन्।
इनर्वा एसएसबी क्याम्पमा कार्यरत इन्स्पेक्टर पवन कुमार यादवका अनुसार भारत–नेपाल सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका बेला हनुमान गली नजिक एक व्यक्ति आउँदै गरेको देखिएको थियो। उनको गतिविधि शंकास्पद लागेपछि जवानहरूले रोकेर जाँच गरेका थिए।
जाँचका क्रममा ती व्यक्तिले बोकेको प्लास्टिकको झोलाबाट एलडीजेसीक पी ट्याब्लेटका १०० पत्ता, कुल १ हजार थान ट्याब्लेट फेला परेको एसएसबीले जनाएको छ। बरामद ट्याब्लेटसँग सम्बन्धित आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर यादवले बताए।
एसएसबीका अनुसार आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया पूरा गर्न बरामद ट्याब्लेटसहित नियन्त्रणमा लिइएका मियाँलाई बेतिया भन्सार विभागको जिम्मा लगाइएको छ।
तपाईको प्रतिक्रिया