काठमाण्डौ १४ चैत।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार ट्वीटमा एक भिडियो सेयर गर्दै जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनु भएको हो ।
प्रधानमंत्री जोनसन सेल्फ आइसोलेसनमा बसिरहेको पनि उहाँले ट्वीटमा मार्फत जानकारी दिनु भएको छ । जोनसनले आफूले घरबाटै काम गर्ने बताउनु भएको छ ।
बेलायत सरकारले हालै २ हप्ताको लागि देश लकडाउन गरेको छ। यसबीच सबैलाई घरमै बस्न आग्रह गरिएको छ।
जोनसनले ट्वीटमा पनि सबैलाई घरमै बस्न भन्नु भएको छ।
बेलायतमा बुधबारसम्म ११ हजार ६सय ५८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ५ सय ७८ जनाको मृत्यु भइसकेको छ।
विश्वको १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसका कारण हालसम्म २४ हजार ८ सय ६३ ले ज्यान गुमाइसकेका छन्।
हालसम्म ५ लाख ४९ हजार २२० संक्रमित बनेका छन्। उपचारपछि १ लाख २८ हजार ६ सय ३७ स्वस्थ बनेता पनि हालसम्म कोरोनाको औषधि र खोप बन्न सकेको छैन। खोप र औषधि परीक्षण कालमै छन्।
अहिले कोरोनाको उद्गमस्थल चीनमा कोरोनाबाट संक्रमित र मृतक र घट्न थालेकोे छ। तर युरोप र अमेरिकी देशहरुमा कोरोनाको प्रभाव बढ्दो छ।
तपाईको प्रतिक्रिया