मलंगवा । आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सर्लाहीका क्षेत्र नं १ र २ मा सर्वसम्मत तथा प्रक्रियागत रूपमा उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ।
तर, क्षेत्र नं ४ मा पार्टीको स्थापित मापदण्ड विपरीत उम्मेदवार सिफारिस भएको आरोपसँगै कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ। क्षेत्र नं ३ मा भने उम्मेदवार सिफारिस प्रक्रिया अझै सम्पन्न हुन सकेको छैन।
क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ हरिपुर–७ निवासी रामचन्द्र चौधरी, लालबन्दी–१३ का शम्भुलाल श्रेष्ठ तथा लालबन्दी–१ की मन्दिरा आचार्यको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ ईश्वरपुर–८ की सुशीला कार्की र लालबन्दी–२ का इस्किलाल पासवान सिफारिसमा परेका छन्।
त्यस्तै क्षेत्र नं २ मा क्षेत्रीय सभापति कौशलकिशोर रायका अनुसार प्रत्यक्षतर्फ मलंगवा–८ का जयहरि श्रेष्ठ ९राजु०, ब्रह्मपुरी–३ का सत्यनारायण राउत, कौडेना–२ का डा. सरोज कुमार तथा हरिपुर्वा–८ का धनमन्तरी यादवको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ मलंगवा–११ का लक्ष्मण राय र हरिपुर्वा–५ की अनिता देवी यादवको नाम अघि सारिएको छ।
राष्ट्रिय सभा सदस्यका लागि ईश्वरपुर–१५ का ब्रह्मनारायण चौधरी र मलंगवाकी सहरुल खातुनको नाम प्रस्ताव गरिएको छ।
तर, सर्लाही क्षेत्र नं ४ मा भने पार्टीको मापदण्ड विपरीत वर्तमान प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ।
पार्टीका स्थानीय नेता–कार्यकर्ताहरूले प्रक्रिया र मापदण्ड मिचिएको आरोप लगाउँदै विरोध जनाएका छन्। यस विषयमा उठेको विवाद केन्द्रसम्म पुगेको बताइएको छ।
उता सर्लाही क्षेत्र नं ३ मा भने उम्मेदवार सिफारिस प्रक्रिया अझै बाँकी रहनुले जिल्लाभित्र कांग्रेसको आन्तरिक व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्।
तपाईको प्रतिक्रिया