काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा एक नेतामाथि कारबाही गरेको छ।
पार्टीका अध्यक्ष हर्क साम्पागंले सोमवार एक बिज्ञप्ति जारी गरि पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई निलम्बन गरेको जनाएका हुन ।
पार्टीको केन्द्रीय कार्य समितिले जारी गरेको सूचनाअनुसार पुष ५ गते बुटवलमा आयोजित आमसभामा पार्टीका उपाध्यक्ष मित्र परियारले पार्टीको विचारधाराविपरीत हुने गरी अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएका थिए।
त्यसैगरी, जिल्ला सह–संयोजक केशव न्यौपाने लाई आपत्तिजनक तथा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लगाइएको छ।
उक्त गतिविधिहरू पार्टी अनुशासन विपरीत भएको ठहर गर्दै परियारलाइ पदबाट निलम्बन गरिएको पार्टीले जनाएको छ।
पार्टीले संगठनभित्र कुनै पनि व्यक्ति ठूलो वा सानो नभई सबै कार्यकर्ता समान भएको स्पष्ट गर्दै, “केन्द्र समितिको हुँ” भन्दै आबद्ध सदस्यहरूलाई अपमान गर्ने किसिमका अभिव्यक्ति र व्यवहार सह्य नहुने चेतावनी दिएको छ। यस्ता कार्य दोहोरिएमा कडा कारबाही गरिने पनि पार्टीले जनाएको छ।
तपाईको प्रतिक्रिया