बरहथवा । आगामी निर्वाचनको तयारीमा जुटेका नेपाली कांग्रेसका सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ पुगेका छन् ।
सोमबार दिउँसो सर्लाही आइपुगेका उनले जिल्लाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल मुक्तेश्वर महादेव मूर्तियामा दर्शन गर्दै चुनावी घरदैलो कार्यक्रमको शुभारम्भ गरेका छन् ।
थापाले मुक्तेश्वर महादेवमा विधिपूर्वक पूजाअर्चना गर्दै स्वच्छ राजनीति, विकास र जनताको भरोसा जित्ने संकल्प व्यक्त गरे । उनले चुनावपछि पुनः यही मन्दिरमा फर्कने प्रतिबद्धता समेत जनाएका छन् ।
प्राचीन भगवान् शिवको मन्दिरका रूपमा परिचित मुक्तेश्वर महादेव मूर्तिया महाशिवरात्रि, तीज तथा साउन महिनामा हजारौँ भक्तजन सहभागी हुदै आएका छन ।
स्थानीय जनविश्वासअनुसार त्यहाँ सच्चा मनले पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । सन्तान प्राप्ति, रोग–व्याधि निवारण तथा मनोकामना पूर्तिका लागि टाढा–टाढाबाट भक्तजनहरू आउने गर्दछन् ।
मन्दिर परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै थापाले देश र जनताको सेवामा इमानदार भएर काम गर्ने, स्वच्छ राजनीतिक संस्कार स्थापित गर्ने र सर्लाही क्षेत्रको चौतर्फी विकासमा आफू प्रतिबद्ध रहने बताए ।
उनले भने, “म मुक्तेश्वर महादेवलाई साक्षी राखेर बाचा गर्छु यदि यहाँका जनताले मलाई सेवा गर्ने अवसर दिनुभयो भने, चुनावपछि पुनः यही मन्दिरमा आएर जनताप्रति गरेका सबै बाचा पूरा गरेको प्रतिवेदन चढाउनेछु ।”
चुनावी अभियान अन्तर्गत थापाले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना भावी योजना र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन् ।
तपाईको प्रतिक्रिया