काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले उक्त पार्टी माघ ५ गते नै परित्याग गरेका हुन । पार्टी परित्याग गरेको १० दिन पछि उनलाई पार्टीबाट निष्काषन गरेको छ ।
जसले पार्टी नै छाडेर गयो त्यसको १० दिन पछि निकाषनको अर्थ के रहन्छ र ? तै पनि आत्मरतिमा रमाउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पूर्वमन्त्री तथा नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका प्रदीप यादवसहित ८ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
जसपा नेपाल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका यादवसहित चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा. शिवजी यादवलाई पार्टी हित, अनुशासन तथा विधानविपरीत गतिविधि गरेको ठहर गर्दै निष्कासन गरिएको पार्टीले जनाएको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको र पार्टीको नीति–निर्देशनको उल्लंघन गरेको आरोपमा उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा नेपालको निर्णयमा उल्लेख छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता हुनुअघि नै प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरी टिकट लिएको विषयलाई गम्भीर अनुशासनहीन कार्य ठहर गर्दै कारबाही गरिएको पार्टी स्रोतले जनाएको छ।
तपाईको प्रतिक्रिया