पर्साको ठोरी गाउँपालिका–३ ,रामनगरमा एक युवती मकै बारीमा मृत अवस्थामा फेला परेकी छन् ।
माईती सिन्धुपाल्चोक रहेको २४ बर्षीय युवती गीता दर्जी मृत अवस्थामा फेला परेकी हुन् । घरबाट बिहीबार बिहान ४ बजे घरबाट हिडेकी उनकोे शव दिउँसो १ बजे गाउँलेहरुले मकै बारीमा फेला पारेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिनुभयो।
घटना स्थलमा रहेको शवको प्रकृति हेर्दा मृतकले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने आशंका रहेको प्रहरी निरीक्षक साहले बताउनुभयो । यद्यपि पोस्टमार्टम पश्चात् मात्र घटनाको थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।
मृतकको शव पोस्टमार्टमका लागि बिरगंज स्थित नारायणी अस्पताल पठाउन लागिएको प्रहरीले जनाएको छ। उनको ५ बर्षअघि ठोरीमा विवाह भएको ठोरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्य बहादुर लामाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया