वीरगञ्ज । पर्साको पटेर्वासुगौलीको वडा नं १ सोनवर्षा र वडा नं २ को गादी र सखुवा प्रसौनीको वडा नं २ रामभौरी र घुसुकपुरमा आंतक मच्चाएको पाटेबाघ नियन्त्रणमा आएको छ । सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ बाट भाले पाटेबाघ नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय पर्सा जनाएको छ ।
सखुवा प्रसौनीको वडा नं २ को थापाटाँडी गाँउदेखि नौगछिया जाने सडकखण्डस्थित उखुवारीबाट भाले पाटेबाघ नियन्त्रणमा लिएको हो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र सब डिविजन वन कार्यालय रंगपुरको टोलीले डार्टगन गरी बाघ नियन्त्रणमा लिएको वन कार्यालय प्रमुख हेमन्त साहले जानकारी दिए । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जको टोलीले लिएर गएका छन् ।
उक्त बाघ नियन्त्रणमा लिनकै लागि एक सातादेखि प्राविधिक सहित १६ जनाको निकुञ्जको टोली ३ वटा हात्तीसहित त्यस क्षेत्रमा परिचालीत थियो ।
बाघ लुकेर बस्ने र शिकार देख्नासाथ आक्रमण गर्ने भएकाले टोलीले ‘पग मार्क’ पच्छ्याउदैँ बाघको खोजी गरेको प्रमुख साहले बताए । टोलीले सम्भावित क्षेत्रहरुमा सिसिटिभी क्यामेरा समेत जडान गरेर बाघको सर्चिङ गरेको हो ।
विगत केहि महिनादेखि उक्त बाघले राष्ट्रिय वनसँग सिमा जोडिएका वस्ती प्रवेश गरेर उपद्रो मच्चाउँदै आएको थियो ।
बाघको आक्रमणबाट गादीको थरघट्टीमा एक युवाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थिए ।
तपाईको प्रतिक्रिया