वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
कलेजले वेब संस्करण र नेटिभ एन्ड्रोइड एपसहितको डिजिटल प्रणाली बिहीबार आयोजित विशेष समारोहबीच सार्वजनिक गरेको हो।
कलेजका संरक्षकसमेत रहेका मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रमुख डा. विनय श्रेष्ठको उपस्थितिमा प्रणालीको उद्घाटन तथा औपचारिक शुभारम्भ गरिएको थियो।
कलेजका अनुसार उक्त प्रणाली शतप्रतिशत आन्तरिक जनशक्ति र स्रोतसाधनको प्रयोग गरी विकास गरिएको हो।
कलेजले आफ्नै आवश्यकता र शैक्षिक गतिविधिअनुसार विकास गरेको प्रणालीले शिक्षण–सिकाइसँगै समग्र शैक्षिक व्यवस्थापनलाई डिजिटल माध्यममा थप व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरेको छ।
नयाँ प्रणाली वेब तथा एन्ड्रोइड एप दुवै माध्यमबाट सञ्चालन गर्न सकिने भएकाले विद्यार्थी र शिक्षकलाई शैक्षिक गतिविधिमा डिजिटल पहुँच सहज हुने कलेजले जनाएको छ।
प्रणालीमार्फत शिक्षण, सिकाइ तथा शैक्षिक व्यवस्थापनका विभिन्न गतिविधिलाई प्रविधिसँग जोड्ने लक्ष्य राखिएको छ।
कलेजले बाह्य प्रविधिमा मात्र निर्भर नभई आफ्नै प्राविधिक दक्षता र जनशक्तिको उपयोग गरेर आवश्यकता अनुरूप डिजिटल शैक्षिक संरचना निर्माण गर्न सकिने उदाहरणका रूपमा प्रणालीको विकासलाई लिएको छ।
कार्यक्रममा कलेजका पदाधिकारीहरूले डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षण तथा सिकाइ प्रक्रियालाई समयानुकूल बनाउँदै शैक्षिक गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउन प्रणाली विकास गरिएको बताएका थिए।
तपाईको प्रतिक्रिया