काठमाडौं। लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९, तिलगंगास्थित एक गेस्ट हाउसबाट खैरो हेरोइन र नगदसहित चार जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्युरोका अनुसार कार्तिक ७ गते गेस्ट हाउसमा कोठा बुक गरी बसेका व्यक्तिहरूले सोही स्थानबाट लागू औषध खैरो हेरोइन बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।
सो क्रममा खैरो हेरोइन ३४ ग्राम र नगद ४ लाख ८० हजार रुपैयाँ बरामद भएको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–२ का २० वर्षीय भरोस मुखिया सोही ठाउँका २६ वर्षीय धनिकलाल मुखिया, पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेका छन्।
ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको सजायसम्बन्धी व्यवस्थाअनुसार ३४ ग्राम खैरो हेरोइनको कारोबार पुष्टि भएमा कसुरको प्रकृति र लागू हुने कानुनी प्रावधानअनुसार कैद तथा जरिवाना हुन सक्ने ब्युरोले जनाएको छ।
तपाईको प्रतिक्रिया