बरहथवा । उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्त तथा आक्रोशित समूहले तोडफोड गर्दै आगजनी गरेका छन् ।
घटनामा अस्पतालको इमर्जेन्सी कक्षमा मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बरहथवा नगरपालिका–५, हातीडण्डा पानीट्यांकी टोलका रुपेश रामकी २१ वर्षीया श्रीमती सिमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको हो ।
तीन दिनदेखि बिरामी भएर अस्पतालमा उपचार गराइरहेकी सिमा मंसिर ६ गते साँझ करिब ६ बजे अचानक बेहोस भएकी थिइन् ।
चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आक्रोशित आफन्त तथा समूहले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।
गम्भीर अवस्थामा रहेकी सिमालाई राति १०ः४५ बजे थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । तर, त्यहाँ पुर्याएको आठ मिनेटमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । उपचारमा लापरबाही भएको वा नभएको विषय भने अनुसन्धान र पोस्टमार्टम प्रतिवेदनपछि मात्रै स्पष्ट हुनेछ ।
आगजनीको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक किरण लामाको नेतृत्वमा ३० जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक जीवन श्रेष्ठको कमान्डमा १८ जना र सशस्त्र प्रहरीको सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट नौ जनाको टोली परिचालन गरिएको थियो । सुरक्षाकर्मीले अस्पतालमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बरहथवा–५ का ३३ वर्षिय राजेश कुमार महरा र २१ वर्षिय रोहन महरा , रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षिय भुसेनी महरा र २० वर्षिय राजन राम रहेका छन् ।
त्यस्तै, अस्पतालमा करार सेवामा कार्यरत बरहथवा–५ का ३० वर्षिय धिरज महरा र ४२ वर्षिय सुरेश महराले पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोप लागेको छ । उनीहरू घटनापछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गर्भवती महिलाको उपचारका क्रममा भएको मृत्यु र त्यसपछि अस्पतालमा भएको आगजनीको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया