वीरगञ्ज। १९ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक प्रहरीको नियन्त्रणमा परेका छन्।
पक्राउ पर्नेमा ३१ वर्षीय चिकित्सक प्रियम यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनलाई आइतबार राति अस्पताल परिसरबाटै पक्राउ गरिएको हो।
सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थायी घर भएका यादव हाल हेटौँडा उपमहानगरपालिका–९ मा बस्दै आएका थिए।
प्रहरीका अनुसार पीडित युवतीले आइतबार साँझ करिब ८ बजे आफूमाथि भएको घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली अस्पताल पुगेको थियो। त्यसपछि आरोपित चिकित्सक यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई जिल्ला अदालत मकवानपुरबाट दुई दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया