भैरहवा। सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिकेदेखि पुनः उडान सुरु गर्ने भएको छ।
गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म उडान १५४ वटा र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए। उक्त अवधिमा १३ हजार पाँच सय ९३ जना यात्रुहरू भैरहवा ओर्लिएका थिए र १८ हजार २५ जना यात्रुहरू यहाँबाट विदेश उडेका थिए। यसबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरूले सेवा लिएका थिए।
पछिल्लो समयमा मौसमको कारण देखाउँदै जजिराले उडान–अवतरण स्थगित गरेको थियो। अहिले यसको सेवा काठमाडौं केन्द्रित छ ।
जजिराका प्रतिनिधिसँग गरेको छलफलमा पुनः उडान–अवतरण गर्न एयरलाइन्स तयार भएको उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए।
विमानस्थल सञ्चालनमा भारतसँग सिधा एयर रुट छैन। भारतसँग हाल एकतर्फी मात्र रुट भएकोले समस्या भएको हो।
तपाईको प्रतिक्रिया