काठमाडौं । पर्सा मिलन केन्द्र, काठमाडौंले २५ औं पर्सा दिवस समारोहमा सञ्चार क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै पत्रकार निरञ्जन मिश्रलाई सम्मान गरेको छ।
लामो समयसम्म पर्सा जिल्लामा रही सञ्चार क्षेत्रको विकासमा समर्पित भई उल्लेखनीय तथा प्रशंसनीय योगदान पुर्याई पर्सा जिल्लाको गौरव अभिवृद्धि गर्नुभएको भन्दै केन्द्रले उनलाई सम्मान(पत्र प्रदान गरेको हो।

वीरगंजको माई टेलीभिजनका समाचार सम्पादक रहेका मिश्र प्रेस चोतारी नेपाल पर्साको अध्यक्ष पनि हुन । संगठनका माध्यमले पनि पत्रकार पत्रकारिताको हित र पेशागत रक्षाको बिषयमा बहस पैरवी गर्दै आएका पत्रकार मिश्रलाई सम्मान गर्ने केन्द्रको कामलाई पर्सेली संचार जगतले निकै महत्वपूर्ण कामका रुपमा लिएका छन ।
त्यस्तै, लामो समयदेखि गायन, अभिनय र समग्र कला क्षेत्रमार्फत पर्साको नाम उचो राख्न अतुलनीय योगदान पुर्याएबापत चर्चित कलाकार अशोक प्रधानलाई पनि सोही समारोहमा सम्मान गरिएको छ।

सोही समारोहमा सामाजिक संघ संस्था मार्फत योगदान दिएका गोपाल केडिया तथा चिकित्सा क्षेत्रमा योगदान दिनु हुने डा. लक्ष्मी थापा राजनीतिकर्मी राजकृष्ण अमात्य लगायत अन्य ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
शनिबार काठमाण्डौमा आयोजित केन्द्रको २५ औं पर्सा दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको छ।
सम्मान पत्रमा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पृथ्वीराज लिगल, अध्यक्ष गोविन्द प्रसाद नेपाल र केन्द्रका प्रथम उपाध्यक्ष अम् सिंह सिजापति हस्ताक्षर रहेको छ।
समारोहमा पर्सा जिल्लाबाट काठमाडौंमा बसोबास गर्दै आएका पर्सावासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया