काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित चार जना सांसदलाई पार्टीले निलम्बन गर्ने तयारी गरेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।
पार्टीको उच्च स्रोतलाई उद्धृत गर्दै सार्वजनिक भएको दाबीअनुसार विवादित पृष्ठभूमि र विभिन्न आरोपमा मुछिएका सांसदहरूमाथि पार्टीले कारबाहीको तयारी गरेको बताइएको छ।
चर्चामा आएका सांसदहरूमध्ये जनकपुरका एक सांसद पत्रकार अरुण सिंघानिया हत्या प्रकरणमा तीन वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति रहेको बताइएको छ।
धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित रामविनोद यादवको विगतको सजायसम्बन्धी विषय यसअघि विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।
त्यस्तै, पर्साबाट निर्वाचित एक सांसद अन्य दुई सांसदलाई समेत पार्टीको कारबाहीको सूचीमा राखेको भन्ने चर्चा छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले विवादित पृष्ठभूमि भएका सांसदहरूलाई जिम्मेवारीबाट अलग गराउने तथा पार्टीभित्रको अनुशासन कायम गर्न पहल गरिरहेको दाबीसमेत राजनीतिक वृत्तमा गरिएको छ।
यद्यपि, चारै जना सांसदलाई निलम्बन गर्ने निर्णय भएको वा प्रधानमन्त्री शाहले उनीहरूलाई पदबाट हटाउन निर्देशन दिएको विषयमा रास्वपाको आधिकारिक पुष्टि सार्वजनिक भएको छैन।
यसअघि पनि रास्वपाका केही सांसदको उम्मेदवारी तथा आर्थिक कारोबारसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा पुगेका थिए।
पार्टीभित्र अनुशासन, सांसदहरूको विगत र सार्वजनिक जिम्मेवारीसँग जोडिएका प्रश्न उठिरहेका बेला रास्वपाले कस्तो निर्णय लिन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
रास्वपाको बालेन सरकार सुशासन , जबाफ देहिता र भ्रष्टाचारको सन्धर्भमा सुन्य सहनशीलता नीति जनता माझ बुझाएर स्थानीय चुनावमा मतदातालाई आकर्षित गर्न पनि यो नीति लागू गर्न लागेको उच्च स्रोतको दावी छ ।
तपाईको प्रतिक्रिया