कलैया । अस्पतालमा आवश्यक उपकरण छैनन्, स्वास्थ्यकर्मीको व्यवस्था भएको छैन, अस्पताल सञ्चालनको तयारीसमेत पूरा भएको छैन। तर उद्घाटनको रिबन काट्न भने हतार छ।
बाराको फेटा गाउँपालिकामा निर्माणाधीन अस्पतालको उद्घाटनलाई लिएर उत्पन्न विवादले अहिले गम्भीर रूप लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पताल उद्घाटन गर्न खोजेपछि स्थानीयले विरोध गरेका थिए।
स्थानीयको माग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गरेर मात्रै उद्घाटन गर्नुपर्ने थियो। तर स्थानीयको असन्तुष्टिबीच उद्घाटन कार्यक्रम अघि बढाउन खोजिएपछि विवाद चर्किएको हो।
स्थानीयको विरोध नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक स्थानीय युवा १६ वर्षिय आदित्य पासवान गम्भीर घाइते भएका छन ।
उनको वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पताल सञ्चालनको माग गर्दै आवाज उठाएका नागरिकमाथि प्रहरी बल प्रयोग भएको घटनाले थप प्रश्न जन्माएको छ।
यसै घटनालाई लिएर एक स्थानीयले सांसद बास्कोटालाई व्यङ्ग्यात्मक प्रश्न गर्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्।
ु३५ वर्षमा देश नबनेकोमा तपाईंको चिन्ता र पीडा केही समयअघि सुनेका थियौँ। सायद त्यही हतारोले होला, सञ्चालनमा आउनै नसकेको अधुरो अस्पतालमा रिबन काटेर उद्घाटन गर्न तपाईंलाई हतार भएछ, भन्दै उनले सांसदलाई आफनो नाम उद्घाटनको प्लेटमा लेख्नुभन्दा पहिले सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन्।
उनले थप व्यङ्ग्य गर्दै लेखेका छन्, जनताको उपचार गर्ने अस्पताल उद्घाटन गर्न जनतामाथि नै गोली चलाउनुपर्ने हतारोचाहिँ नगरिदिनुहोस् माननीयज्यू।
अस्पतालमा आवश्यक उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था नगरी तामझामसहित उद्घाटन गर्न खोज्नुको औचित्यमाथि प्रश्न उठाउँदै उनले स्थानीयको आवाजलाई बन्दुकले दबाएर विकास सम्भव नहुने टिप्पणी गरेका छन्।
घाइते युवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सरकारलाई संयमित हुन, स्थानीय जनतासँग संवाद र सहकार्य गर्न तथा घटनाको शान्तिपूर्ण निकास खोज्न आग्रह गरेका छन्।
अस्पताल उद्घाटनको श्रेय लिन देखाइएको हतारभन्दा अस्पताल सञ्चालन गरेर जनतालाई उपचार सेवा दिने तयारी महत्वपूर्ण होइन र? फेटाको घटनाले अहिले यही प्रश्न उठाएको छ।
तपाईको प्रतिक्रिया